‘लालीबजार’मा हाम्रो समुदायको भावनामा ठेस पुगने वा अपमान हुने कुनै पनि विषय वा प्रसंग छैन : बादी समुदाय

‘लालीबजार’मा हाम्रो समुदायको भावनामा ठेस पुगने वा अपमान हुने कुनै पनि विषय वा प्रसंग छैन : बादी समुदाय

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं । षट्कोण आट्र्सले निर्माण गरेको सिनेमा ‘लालीबजार’लाई बादी समुदायले आफ्नो कथा देखाएको भन्दै प्रशंसा गरेका छन् । सिनेमाको मुख्य कथा आमा र छोरीको रहेको रहेकाले पनि बादी समुदायको भावनामा ठेस पुग्ने वा अपमान हुने कुनै पनि विषय वा प्रसंग सिनेमामा नरहेको देवीसरा वादीले बताइन् ।

सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा देवीसराले आफ्नो संस्थाका महिलालाई सिनेमा देखाउने बताइन । उनले भनिन्, ‘हामीले सिनेमा हेरिसकेका छौँ । केही शब्दमा हाम्रो आपत्ति थियो, त्यो निर्माण पक्षले हटाउनुभयो, हामी कृतज्ञ छौँ । यो कथाले वा लालीबजार सिनेमाले हाम्रो समुदायको भावनामा ठेस पुर्याउने कुनै काम गरेको छैन । उल्टै यसमा हाम्रो संघर्ष र विद्रोहको कथा देखाइएको छ । यसले हामीलाई हाम्रो अधिकारको लागि लड्न झनै हौसला दिएको छ ।’

उनले सिनेमामार्फत आफ्नो लागि लड्न प्रेरित गर्ने आमाको कथा देख्न पाइने बताइन । यस्तै, बादी समुदायका अभियन्ताको रुपमा परिचित हिक्मत बादीले पनि सिनेमा हेरेपछि समुदायको भावनालाई ठेस पुग्ने कुनै आशय ‘लालीबजार’मा नरहेको प्रस्ट्याए ।

उनले भने, ‘यो तराईको आमाको कथा हो । हामीलाई आपत्ति लागेको शब्द हटाएपछि सिनेमालाई लिएर आपत्ति मान्नुपर्ने, रोक्नु पर्ने कुनै कारण छैन् । हामीले हाम्रो विरुद्ध भएको शोषणको आवाज अब उठाउने बेला आएको छ, हामीले सडकमा उठाईरहेका छौँ । सिनेमामा पनि कलाका मध्यमले हाम्रो विरोधको आवाज सुनिन थालेको छ, यसमा नराम्रो छ भन्ने मलाई लाग्दैन ।’

सिनेमामा साशक र सोशकबाट आमाले बचाउन गरेको संघर्षले बादी महिलासँगै अन्य समुदायका महिलालाई पनि अन्याय विरुद्ध लड्न बल दिने उनले बताए । जबसम्म लुकेको घाउ देखाइँदैन, तबसम्म डाक्टरले उपचार गर्न नसक्ने रमा बादीले बताइन् ।

‘हामी सिनेमा हेर्ने मनसायले आएका थिएनौं, हामी हाम्रो सरकारसँग गरिएको सम्झौता किन कार्यन्वयन भएन् भनेर सिंहदरबार पुगेका थियौँ । त्यहाँ हाम्रो समुदायको कथामा सिनेमा बनेको छ भन्ने थाहा पाएपछि हामीले हेरेका हौँ । हामीले हाम्रो राय पनि दिईसकेका छौँ । यो सिनेमा मूलतः आमा र छोरीको कथा हो । शासकले शोसन गरेको आमाले आफ्नो छोरीका लागि लड्ने लडाई हामी सबैका लागि प्रेरणा छ । यो हाम्रो आमाको कथा हो, जसले हाम्रो लागि लडीन्‌’, उनले भनिन् ।

यस्तै, यो पत्रकार सम्मेलनमा सहभागी पदम राना बादी, रमेश गन्दर्भ बादी लगायतले पनि सिनेमा हेरिसकेको र समुदायलाई आपत्ति हुने कुनै दृश्य र संवाद नरहेको बताए । राय र सुझावका आधारमा केन्द्रीय चलचित्र जाँच समितिले ‘लालीबजार’लाई सबैले हेर्न मिल्ने गरी ‘युनिभर्सल’ सर्टिफिकेट दिँदै पास गरिसकेको छ ।

‘लालीबजार’ अघि नै बादी समुदायको कथामा सिनेमा ‘पण्डित बाजेको लौरी’ सहित दुई उपन्यासहरु ‘नथिया’, ‘ऐलानी’ प्रदर्शन तथा प्रकाशन भइसकेका छन् । सेन्सर बोर्डबाट पास भइसकेकाले यो सिनेमाले बादी समुदाय लगायत कुनै पनि जात, धर्म, वर्ण, क्षेत्र, सम्प्रदायका मानिसहरुको मान मर्यादा, इज्जत–प्रतिष्ठा र आत्म सम्मानमा आघात पुग्ने, कसैप्रति घृणा, द्वेष वा वैमनस्यता उत्पन्न गर्ने, साम्प्रदायिक दुर्भावना फैलाउने जस्ता कार्य नगरेको सहजै बुझ्न सकिन्छ ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष उदय कुमार ईङ्नामद्वारा मंगलबार जारी विज्ञप्तिमा सिनेमा केवल मनोरञ्जनको साधन मात्र नभई विचार र अभिव्यक्तिको स्वतन्त्रताको सशक्त माध्यम भएको उल्लेख गरिएको छ । करोडौँ रुपैयाँको लगानी र सयौँ प्राविधिक तथा कलाकारहरूको वर्षौँको मेहनतबाट निर्माण भएको सिनेमालाई प्रदर्शनको अन्तिम तयारीमा रहँदा अवरोध सिर्जना हुनुले समग्र उद्योगलाई नै सशंकित बनाएको संघको ठहर छ ।

राज्यको वैधानिक निकाय केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शनका लागि अनुमति दिइसकेको अवस्थामा अदालतमा रिट दर्ता हुनुले स्वतन्त्र लगानीकर्ता र सर्जकको मनोबल कमजोर पार्ने विज्ञप्तिमा जनाइएको छ । ‘प्रदर्शनको मुखमा आएर सिनेमालाई रोक्ने वा प्रभावित पार्ने मनसायले रिटको प्रक्रिया सुरु हुनुले लगानीकर्ताको आत्मबल कमजोर बनाउने र सिर्जनशीलतालाई कुण्ठित गर्ने जोखिम रहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

संघले विधिको शासन र न्यायपालिकाप्रति पूर्ण निष्ठा व्यक्त गर्दै सिर्जनामाथिको बन्देज वा अवरोध हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने माग गरेको छ । सिनेमाको मर्म, लगानीको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रतालाई मध्यनजर गर्दै ‘लालीबजार’ निर्बाध रूपमा प्रदर्शन हुने वातावरण निर्माण गरिदिन संघले अदालत र सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ । सिनेमाको प्रदर्शन मिति यही वैशाख १८ गतेलाई तोकिएको छ ।