जेठ ८ गते रिलिज हुने ‘मितज्यू’को ६ देशको प्रदर्शन अधिकार बिक्रि

जेठ ८ गते रिलिज हुने ‘मितज्यू’को ६ देशको प्रदर्शन अधिकार बिक्रि

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ ८ गतेबाट अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको सिनेमा ‘मितज्यू’ प्रदर्शनमा आउने तयारीमा छ । यसको टिजर र ‘गैराघरे काइँली’ गीतलाई दर्शकले रुचाएसँगै विदेशमा सिनेमाको माग बढ्न थालेको छ । मंगलबार मात्र निर्माताले ६ देशमा सिनेमाको प्रदर्शन अधिकार बिक्री गरेका हुन् ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा प्रदर्शन अधिकार बिक्री भएको निर्माता जनक घर्ती मगरले जानकारी दिए । उनले प्रदर्शन अधिकारको बिक्री रकम भने खुलाएका छैनन् । उनका अनुसार अन्य देशहरूमा पनि सिनेमाको प्रदर्शनका लागि छलफल भइरहेको छ ।

सिनेमामा दयाहाङ राई, सौगात मल्ल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, खड्गबहादुर पुन (खबपु) लगायतका कलाकारको अभिनय रहेको छ । यो सिनेमाबाट चर्चित डान्सर तेरिया फौजा मगरले अभिनेत्रीको रूपमा डेब्यू गरेकी छन् ।

मितेरी साइनोको कथामा आधारित सिनेमामा महेश राईको लेखन, शिशिर बिशंखेको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, शैलेश श्रेष्ठको पार्श्व संगीत, मुकेश शाहको साउन्ड तथा श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । गीतको चर्चा र कलाकारको बलियो ‘लाइनअप’का कारण सिनेमाले बक्सअफिसमा सुखद व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ ।