द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री रेखा थापाले ‘काउकुती’ नाममा सिनेमा निर्माण गर्ने भएकी छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोस्टर सेयर गर्दै ८औं सिनेमाको रुपमा ‘काउकुती’ निर्माण घोषणा गरेकी हुन् । यो सिनेमाको घोषणाअघि रेखाले सोमबार साँझ भारतको उत्तराखण्डस्थित कैंची धाममा विशेष पूजा गरेकी थिइन् ।
हास्य कथावस्तुमा निर्माण हुन लागेको सिनेमालाई चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’की निर्देशक तथा प्रोजेक्ट हेड श्रद्धा प्रसाईंले निर्देशन गर्नेछिन् । ‘प्रेमगीत २’ र ‘दर्पण छायाँ २’की अभिनेत्री समेत रहेकी उनले यसअघि सिनेमा ‘ककाकिकी’को निर्देशन गरेकी थिइन्, जसमा रेखाको मुख्य भूमिका रहेको थियो । यो सिनेमामा श्रद्धाको काम गर्ने शैलीबाट रेखा प्रभावित भएकी थिइन् ।
नवराज श्रेष्ठ र बलराम शाही ठकुरी निर्माता रहेको सिनेमामा रेखा स्वयंको मुख्य भूमिका रहने जनाइएको छ । यसमा उनको जोडी नव-अभिनेतासँग बाँधिनेछ । ती अभिनेताको नाम र तस्वीर केही दिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ । सिनेमामा विक्की अग्रवाल र विनेश राईको कथा छ भने पटकथा विनेश स्वयंले तयार पारेका हुन् ।
आगामी असोजमा छायांकनको तयारी गरिएको सिनेमामा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । प्रशान्त तिनै सर्जक हुन्, जसले तयार पारेका ‘न्याउली वनैमा’, ‘काँधेकुरी’ जस्ता गीत चर्चित छन् । सिनेमाको एउटा गीत चर्चित र्यापर लिल झोला (आकाश क्षेत्री)ले गाउने जनाइएको छ । उनले यही सिनेमाबाट पार्श्व गायनमा डेब्यू गर्न लागेका हुन् ।


प्रतिक्रिया