प्रवीन श्रेष्ठ निर्देशित ‘बब डाइ’मा कुशलको र्‍याप

प्रवीन श्रेष्ठ निर्देशित ‘बब डाइ’मा कुशलको र्‍याप

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा कमेडियन कुशल पोखरेललाई यतिबेला पार्श्व गायनमा भ्याइनभ्याइ छ । ‘बेहुली फ्रम मेघौली’ र ‘रमिताको पिरती’ जस्ता सिनेमामा स्वर दिइसकेका उनले अर्को सिनेमा ‘बब डाइ’मा पनि र्‍याप गाएका छन् । यही सिनेमाबाट उनले अभिनयमा डेब्यू समेत गरेका छन् ।

गायक पोखरेल स्वयंको शब्द रहेको गीतको भिडियो यसै साता ललितपुरको भैंसेपाटीमा खिचिएको छ । सोमबार र मंगलबार छायांकन गरिएको भिडियोमा कुशल स्वयं देखिएका छन् भने सिनेमाका मुख्य कलाकारहरू पनि प्रस्तुत भएका छन् । सिनेमाका निर्देशक प्रवीन श्रेष्ठका अनुसार अब अभिनेता सौगात मल्लका दृश्यहरू मात्र खिच्न बाँकी रहेका छन् ।

हास्य कथावस्तुमा निर्माण भएको सिनेमामा सौगात र कुशलसहित सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी लगायतका कलाकारको अभिनय देख्न सकिनेछ । बाल कलाकारमा अग्रिम पण्डित रहेका छन् ।

रोटेपिङ्ग इन्टरटेनमेन्टले श्रीराम बालाजी फिल्मस्‌सँगको सहकार्यमा निर्माण गरेको सिनेमामा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्मातामा छन् भने रवीन्द्र प्रजापति कार्यकारी निर्माताको रूपमा छन् । मैनिषा गौचन र प्रवीन श्रेष्ठको कथा रहेको सिनेमामा श्याम तामाङको छायांकन तथा निर्देशक श्रेष्ठ स्वयंको सम्पादन छ । सिनेमालाई यही वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।