निता ढुंगाना निर्देशित ‘पार्वती’को छायांकन २२ दिनमा सकियो

निता ढुंगाना निर्देशित ‘पार्वती’को छायांकन २२ दिनमा सकियो

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय सिनेमा ‘पार्वती’को २२ दिनमा सम्पूर्ण छायांकन सकिएको छ । बुधबार पोखरामा अन्तिम दृश्य खिचिएसँगै सिनेमाको छायांकन सकिएको हो । गत चैत २४ गते कास्कीको मिर्सा गाउँबाट ३० दिनको तालिकामा सिनेमाको छायांकन सुरु गरिएको थियो । काम छिटो हुँदा ८ दिन अगावै छायांकन सकिएको निर्देशक नीताले जानकारी दिइन् ।

नीताका श्रीमान् तथा ज्योतिष हरिहर अधिकारी निर्माता रहेको सिनेमामा नीता स्वयं मुख्य भूमिकामा छिन् भने दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, आशा पौडेल लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमाको कथा तथा पटकथा नीता स्वयंले लेखेकी हुन् । संवाद भने शिवम् अधिकारीको हो ।

नीताले सिनेमामा पार्वती पात्र एक्लै आफ्नै दुनियाँमा जिउने खालको रहेको बताएकी छन् । सिनेमाबारे उनले भनेकी छन्, ‘यो हास्य, भावना र सामाजिक सन्देश मिसिएको मनछुने कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ ।’ सिनेमामा उनी ‘अटिजम’ भएको युवतीको भूमिकामा देखिने जनाइएको छ ।

सुदिप बरालको छायांकन रहेको सिनेमामा चर्चित डान्सिङ ग्रुप ‘कार्टुन क्रु’का सरोज अधिकारी क्रियटिभ निर्देशकका रूपमा छन् भने शंकर पाण्डेले प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेका छन् । यो सिनेमाको सम्पादन साहिल खानले गर्नेछन् । सिनेमालाई जनै पूर्णिमाको अवसर पारेर भदौ १२ गते प्रदर्शन गरिँदैछ ।