द सिनेमा टाइम्स, काठमाडौं । लोकप्रिय हास्य टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले पहिलो सिजनको सफलतापछि दोस्रो सिजन सुरु गरेको छ । निर्माण टिमले हाल प्रसारण भइरहेको ५४औं भागलाई च्याप्टर-२ को रूपमा निरन्तरता दिँदै दोस्रो सिजन औपचारिक रूपमा सुरु भएको जानकारी दिएको हो ।
दर्शकको अत्याधिक माग र निरन्तर मनोरञ्जनको आवश्यकतालाई ध्यानमा राख्दै शोलाई कुनै ब्रेक बिना निरन्तरता दिइएको निर्देशक तथा कार्यक्रम सञ्चालक विशाल भण्डारीले जानकारी दिए । उनका अनुसार पहिलो सिजनकै निरन्तरतामा दोस्रो सिजन सुरु गरिएको हो ।
‘हामीले पहिलो सिजनकै निरन्तरतामा दोस्रो सिजन ल्याएका छौँ । ५४ औँ एपिसोड लाई नै हामीले च्याप्टर-२ भनेर घोषणा गरेका हौँ’ निर्देशक भण्डारीले भने, ‘दर्शककै मागअनुसार निरन्तर मनोरञ्जन दिने उद्देश्यले हामीले दोस्रो सिजन प्रसारणलाई निरन्तरता दिएका हौँ ।’
च्याप्टर-२ को पहिलो एपिसोडमा वैशाख २५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मालती मंगले’को निर्माण टिम तथा कलाकारहरु विशेष अतिथि बनेका थिए । कार्यक्रममा वर्षा राउत, विजय बराल, मेक्सम गौडेल, सिनेमा निर्माता तथा गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय, कार्यकारी निर्माता सागर ज्ञवाली र गायिका ऋतिका श्रेष्ठको उपस्थित रहेको थियो ।
शोमा पुरानै हास्य कलाकार पवन भट्टराई, प्रभात लामा, कर्मासिंह लामा, भरतमणि पौडेल, कैलाश कार्की र सुमन कोइरालाले प्रस्तुति दिएका थिए । गत मंगलबार प्रसारण भएको शोलाई दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको छ । शोमा ‘मालती मंगले’को टिम अतिथिको रूपमा आउँदा पवन भट्टराईले अभिनेता विजय बरालकै अगाडि सिनेमा ‘कबड्डी’का बीकेको पात्र बनेर प्रस्तुति दिएका थिए, जसमा विजय बराल स्वयं खुल्दै हाँसेका थिए ।
प्रभात लामा र कर्मा लामाले गरेको सुदन-सुशीला डुओ पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यसैगरी, भरतमणि, सुमन कोइरालाको प्रस्तुति शो लाई नै एक प्रकारले हाइलाइट गरेको छ । उनीहरूले अतिथि भएर सोफामा बसेका आफ्नै साथी मेक्सम गौडेललाई मज्जाले रोस्ट हानेका थिए ।
अन्त्यमा जड्याहा पात्रको भूमिकामा देखिएका कैलाश कार्कीको प्रस्तुतिसँगै सकिएको शो दर्शकमाझ हाँसोको फोहोरा छुटेको देख्न सकिन्छ । यसका साथै अन्य शोमा सुमन कार्की, सजन श्रेष्ठ, मेक्सम गौडेलले पनि प्रस्तुति दिनेछन् । यसपटक कलाकार टिमबाट सन्तोष थापा बाहिरिएका छन् । थापाको स्थानमा अब कर्मा लामा नियमित रूपमा प्रस्तुति दिने भएका छन् । यसअघि उनी सानो साइड रोलमा मात्र देखिन्थे। सुदन–सुशीला र चक्रे–मिलन जस्ता पात्रमार्फत चर्चा कमाएपछि विशालले कर्मा लामालाई नियमित परफर्मरका रूपमा सम्झौता गरेका हुन् ।
शोको स्क्रिप्ट लेखनमा पनि कर्मासँगै निश्चल अर्याल र प्रतीक अधिकारी छन् । कार्यक्रममा सेट डिजाइनमा समेत परिवर्तन गरिएको छ । पुरानो सेटलाई नयाँ रंगरोगन र फूलहरूले सजाएर अझ आकर्षक बनाइएको छ । दीपाश्री निरौला अध्यक्ष रहेको उक्त सो थ्री प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको हो ।
यो कार्यक्रम साताको प्रत्येक मंगलबार राति ९ बजे हिमालय टिभीमा प्रसारण हुनुका साथै र ओएसआर रियालिटी युट्युब च्यानलमार्फत सार्वजनिक भइरहेको छ ।



प्रतिक्रिया