द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहने सिनेमा ‘जुबा’को छायांकन सुरु गरिएको छ । मंगलबार सर्लाहीको एक मन्दिरमा विशेष पूजा गर्दै शुभमुहूर्त गरेपछि बुधबारबाट सिनेमाको छायांकन थालिएको हो । सर्लाहीमा ७ दिनसम्म सिनेमाको छायांकन हुने जनाइएको छ । यसपछि काठमाडौं र भारतको राजस्थानमा छायांकन गरिनेछ ।
प्रकाश कर्णको लेखन तथा निर्देशनमा निर्माण हुने सिनेमामा सौगातको जोडी सोफी धरेलसँग बाँधिएको छ । सोफीले यही सिनेमाबाट अभिनेत्रीको रूपमा डेब्यू गर्न लागेकी हुन् । सिनेमामा सुधन पोखरेल र जीवन भट्टराईको पनि मुख्य भूमिका रहनेछ । अन्य कलाकारहरूको बारेमा भने निर्माण पक्षले जानकारी दिएको छैन ।
सिनेमाको छायांकन सुरु हुनुभन्दा ८ महिनाअघि नै सौगातसहितका कलाकारहरूको पोस्टरमार्फत पात्र लुक्स सार्वजनिक गरिएको थियो । पोस्टरमा सौगात जुँगा र लामो कपालसहित देखिएका थिए । एक पोस्टरमा उनले घुँडा टेकेर क्यामेरालाई नमस्कार गरेको दृश्य समेत थियो, जसले सिनेमामा उनी कलाकारकै भूमिकामा देखिन लागेको संकेत गर्छ ।
अस्त्र फिल्म्सको ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन प्रमोद प्रधानले गर्नेछन् । उनले ‘दक्षिणा’, ‘त्रिशूली’, ‘अन्याय’, ‘चिनो’, ‘कोसेली’ जस्ता नेपाली र ‘देवदास’, ‘रङ दे बसन्ती’, ‘भाग मिल्खा भाग’ जस्ता भारतीय सिनेमाको छायांकन गरिसकेका छन् । करिब ५० को दशकको कथावस्तुमा निर्माण हुन लागेको सिनेमाको पटकथा तथा संवाद वर्षा पौडेलले लेखेकी हुन् ।


प्रतिक्रिया