बालबालिकामा पढाइको बोझले पार्ने मानसिक दबाबको कथा ‘रोल नं १’को टिजर सार्वजनिक

बालबालिकामा पढाइको बोझले पार्ने मानसिक दबाबको कथा ‘रोल नं १’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने ‘रोल नं १’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक झन्डै २ मिनेट लामो टिजरले सिनेमाको कथावस्तु र सेटिङबारे जानकारी दिएको हो । ग्रामीण परिवेशमा आधारित सिनेमाले बालबालिकामा पढाइको बोझले पार्ने मानसिक दबाबको कथा पस्तुत गरेको छ ।

आर्थिक अभावका कारण पढ्नका लागि छात्रवृत्तिको भर पर्नुपर्ने बाध्यता र समाजमा इज्जतका लागि बालबालिकालाई परिवारले दिने पढाइको दबाबलाई टिजरमा देखाइएको छ । बाबु-छोराको सम्बन्ध, बाबुको इज्जतका लागि छोराले पढाइमा गरेको मिहिनेत, कमजोर स्मरण शक्तिका कारण बच्चामा पर्ने प्रभावलाई पनि टिजरले देखाउने प्रयास गरेको छ ।

कीर्तिमानी सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको सिनेमामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । सिनेमालाई जोन योञ्जनले निर्देशन गरेका हुन् । उनले यसअघि ‘आँखा’ निर्देशन गरेका थिए ।

यो सिनेमाले अहिलेको शिक्षा प्रणालीले बालबालिकामा पारेको प्रभावलाई मुख्य कथावस्तु बनाएको छ । विनोद पौडेल र जाह्नवी पौडेल निर्माता रहेको सिनेमाको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । सिनेमामा महेश दवाडीको लेखन, शिवराम श्रेष्ठको छायांकन, मदन घिमिरेको सम्पादन, रोहित शाक्यको पार्श्व संगीत तथा उत्तम प्रधानको साउण्ड डिजाइन रहेको छ ।