द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘एक मुठ्ठी बादल’को केही समय अगाडी सार्वजनिक गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्याप भर्सन सार्वजनिक गरिएको छ । सिनेमाको यसअघि सार्वजनिक टिजर, गीत र ट्रेलरलाई रुचाएका छन् ।
यो गीत लोकलय दर्शकले रुचाएकाले लिरिकल र्याप भर्सनलाई पनि मन पराउने विश्वास निर्माण टिमको छ । सुमित पाठकको संगीतमा मीना पोखरेल, इन्द्रकला राई र स्यामी डी रियल जीको स्वर रहेको गीतलाई हर्क साउदले रचना गरेका हुन् । सुमित नेपाल आइडल सिजन २ उपविजेता हुन् । गायकको रुपमा पहिचान बनाएका सुमितले सिनेमा संगीतमा सुरुवात गरेका हुन् ।
सहारा शर्माको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमालाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् ।
सिनेमामा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ । सिनेमामा मर्णा जेम्सले सिनेमाको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् ।
सिनेमाका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको सिनेमालाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । सिनेमालाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।


प्रतिक्रिया