द सिनेमा टाइम्स, काठमाडौं । घनश्याम लामिछानेको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ नामक सिनेमा निर्माण हुने भएको छ । गत शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच यो सिनेमाको औपचारिक रूपमा निर्माण घोषणा गरियो । सो अवसरमा सिनेमाका मुख्य कलाकारहरू पनि चिनाइएको थियो ।
सिनेमा ‘चित्रा’का निर्माता सन्तोष अधिकारीले निर्माण गर्ने सिनेमामा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी लगायतका कलाकारको अभिनय रहनेछ । यो सिनेमाबाट प्रतिमा थापाले अभिनेत्रीको रूपमा डेब्यू गर्दैछिन् । मोडलिङ पृष्ठभूमिकी उनले यसअघि ‘चित्रा’मा ‘हेड अफ प्रोडक्सन’को रूपमा काम गरेकी थिइन् ।
सिनेमाको निर्माण घोषणा कार्यक्रममा भुवन केसीले आफूलाई कथावस्तुदेखि शीर्षकसम्म मन परेको बताए । उनले भने, ‘सुरुमा त मलाई सिनेमाको शीर्षक नै एकदमै ‘क्याची’ लाग्यो । कथावस्तु पनि युवापुस्ताका दर्शकलाई मनपर्ने खालको छ । त्रिकोणात्मक प्रेमकथा सुन्दर ढंगले लेखिएको छ । मलाई निर्मातासहितको टिम र भूमिका पनि राम्रो लागेपछि सिनेमामा जोडिएको हुँ ।’
असाप इन्टरटेनमेन्ट अस्ट्रेलियाको प्रस्तुतिमा निर्माण हुने सिनेमाको सह-निर्मातामा राज श्रेष्ठ र आशिष थापा मगर तथा लाइन प्रोडुसरमा तेजविक्रम केसी छन् । सिनेमामा नरेन्द्र मैनालीको छायांकन, मनिष गौतमको लेखन र युग भुसालको संगीत रहनेछ । आगामी भदौबाट सिनेमाको छायांकन सुरु हुने जनाइएको छ ।



प्रतिक्रिया