बुधवार ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ २३ गते हुने

बुधवार ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ २३ गते हुने

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ २३ गते बुधवारका लागि सारिएको छ । उच्च अदालत पाटनका मा.न्या.श्री गिता प्रसाद तिम्सिना र मा.न्या.श्री दीपक खनालको संयुक्त इजलासले सेन्सर बोर्डमार्फत सेन्सर कपी पेश गर्न आदेश दिएको हो ।

मंगलबार भएको सुनुवाइमा अदालतले यसअघि १५ वैशाखमा दिएको प्रदर्शन रोक्ने आदेशमा छलफल गर्दै सेन्सर बोर्डमार्फत सक्कल कपी मगाउँदै बुधवारलाई छलफलमा बोलाएको छ । गत १८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको निर्देशक यम थापाको यो सिनेमा अदालतको आदेशपछि रोकिएको थियो । भोलि बुधवार हुने सुनुवाइमा पेश गरिने सेन्सर कपीका आधारमा सिनेमाको प्रदर्शनबारे निर्णय हुनेछ ।

आमा र छोरीको कथामा आधारित सिनेमा ‘लालीबजार’ कुनै समुदाय विशेषलाई लक्षित गर्दै भावनामा ठेस पुग्ने संवाद र दृश्य नभएको जानकारी दिदै सार्वजनिक पत्रकार सम्मेलनमा बादी अभियन्ताले तारिफ गरेका थिए । निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आट्र्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल सिनेमा निर्माण गरिसकेका छन् ।

यद्यपि ‘लालीबजार’मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका छन् । यो सिनेमामार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा अभिनेता र निर्देशकको रुपमा काम गरीरहेका कलाकार हुन् । प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् ।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको सिनेमा ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । सिनेमामा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् । म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।