‘काजी’ मार्फत् हामीले एउटा प्रेम कथा भन्न खोजेका हौं : निर्देशक लक्ष्मण रिजाल

‘काजी’ मार्फत् हामीले एउटा प्रेम कथा भन्न खोजेका हौं : निर्देशक लक्ष्मण रिजाल

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक लक्ष्मण रिजाल करिब ८ वर्षको अन्तरालमा दर्शकमाझ देखिँदैछन् । ‘वान डे’ बाट सिनेमा निर्देशनमा डेब्यु गरेका रिजालले त्यसपछि ‘कसम’, ‘धुवाँ यो नशा’, ‘अलबिदा’ र ‘कायरा’ निर्देशन गरेका थिए । उनी अहिले करिब ८ वर्षको अन्तरालमा ‘काजी’ लिएर दर्शकमाझ आएका छन् ।

लक्ष्मणले निर्देशन गरेको सिनेमा यही जेठ ८ गते देशभर प्रदर्शन हुँदैछ । सिनेमाको निर्माण घोषणादेखि नै यसले चर्चा बटुलिरहेको छ । सिनेमाको पोस्टर, प्रिभ्यू र एक गीत पनि सार्वजनिक भइसकेको छ । प्रचार सामग्रीअनुसार सिनेमा काजी र कजिनीको गहिरो प्रेमकथामा बनेको स्पष्ट छ । सिनेमाको मुख्य भूमिकामा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी छन् । उनीहरूमापर्फत नै निर्देशक रिजालले एक प्रेमकथा दर्शकमाझ ल्याएका हुन् ।

एक सुन्दर प्रेम कथा नै भन्ने उद्देश्यले आफूले लेखक प्रदीप भारद्धाजसँग करिब डेढ वर्षजति स्क्रिप्टमा मात्र काम गरेको बताएका छन् । लेखकको कथालाई मर्न नदिने गरी आफू लगायत सिनेमाका सम्पूर्ण टिमले काम गरेको उनले बताएका छन् ।

‘प्रेममै कथा भन्छौ भनेर हामीले करिब डेढ वर्षजति लेखक प्रदीप भारद्धाजसँग बसेर स्क्रिप्टमा काम गर्‍यौँ । दाइले जे चाहाना राखेर कथा सोच्नुभएको थियो, त्यो कथालाई मैले भिडियोमा देखाउन म लगायत सम्पूर्ण निर्माण टिमबाट हामी भएर सिनेमा बनाउने प्रयास गरेका छौँ । र यसमा लेखनबाट आएको कुरालाई कलाकारहरुले पनि जीवन्त बनाउनुभएको छ,’ उनले भने ।

सिनेमा ‘काजी’को गीतमा भनिएको कथा, काजी र कजिनीको प्रेमको अहिले चर्चा हुन थालेको छ । सिनेमाको एक पाटो नै गीतमा समेटिएको छ, जसमा काजी र कजिनीको प्रेम र ग्रामीण जीवनशेली देखाइएको छ । गीतले चर्चा पाउनुमा सिनेमाका छायाँकार चिन्तनराज भण्डारीको भूमिका महत्त्वपूर्ण रहेको निर्देशक रिजालले बताए । ‘काजी’ एक लेवलको सिनेमा बन्नुमा पनि उनको भूमिका महत्त्वपूर्ण रहेको निर्देशक रिजालको दाबी छ ।

‘काजी यस्तो बनाउँछु भन्ने जुन सपना थियो, त्यो पूरा हुनुमा चिन्तनराज भण्डारीको महत्वपूर्ण भूमिका छ । उहाँ भएकै कारण भिडियोमा हामीले जे भन्न खोजेका थियौँ त्यो पूरा गरेका छौँ’ उनले भने । सिनेमाको गीत पनि कथालाई सुहाउने र कथासँगै बग्ने हिसाबले प्रयोग गरिएको निर्देशक रिजालको दाबी छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको सिनेमाका प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन् । प्रदीप भारद्धाजको कथा लेखन रहेको सिनेमालाई चिन्तन राजभण्डारीले छायांकन गरेका हुन् ।

केकी र विपीनसहित सिनेमामा गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी र बाल कलाकार दिक्षिता अर्याल, आरव बराल, सुपला सापकोटाले लगायत कलाकारले अभिनय गरेका छन् ।

सिनेमामा कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर र सुजिल कर्माचार्यको पार्श्व संगीत, नृत्य निर्देशक कविराज गहतरज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपीन मल्ल रहेका छन् ।

क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, असिम काफ्ले कार्यकारी निर्माता रहेको सिनेमाका निर्मातामा राम प्रसाद रिजाल, नेहान रिजाल र विकाश राज जोशी छन् ।