‘मितज्यू’मा मेरो गहिरो र चुनौतीपूर्ण भूमकिा देखिएको छु : दयाहाङ राई

‘मितज्यू’मा मेरो गहिरो र चुनौतीपूर्ण भूमकिा देखिएको छु : दयाहाङ राई

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राईको यो वर्षका लागि पहिलो सिनेमा ‘मितज्यू’ यही जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । मितेरी साइनोको कथामा निर्माण भएको सिनेमामा दयाहाङले ग्रामीण भेगको एक ड्राइभरको भूमिका निभाएका छन् ।

यो सिनेमामा उनको अर्का अभिनेता सौगात मल्लसँग घम्साघम्सी परेको टिजरमा देख्न सकिन्छ । उनीहरूको जोडीका कारण पनि सिनेमाप्रति दर्शकको चासो बढेको छ । दयाहाङले यो सिनेमाको स्क्रिप्ट भने करिब ८ वर्षअघि नै पढिसकेका रहेछन् । त्यसबेला उनलाई सिनेमाको कथावस्तु एकदमै रोचक लागेको थियो । तर, कहिले उनको व्यस्तता त कहिले कोरोना महामारीका कारण सिनेमा निर्माण हुन सकेको थिएन ।

गत वर्ष भने उनले समय निकालेरै ‘मितज्यू’मा काम गरे । सिनेमा गर्दा रमाइलो भएको उनको अनुभव छ । उनी ‘मितज्यू’लाई सम्बन्धको कथाको रूपमा व्याख्या गर्छन् । ‘विशेषगरी यो पारिवारिक सम्बन्ध, आपसी मित्रता र व्यावसायिकताको कथा हो । एउटा गाउँदेखि सहरसम्म गाडीको रुट छ, जहाँ तीनजना चालकले सेवा दिइरहेका छन् । गाडी चलाउने पेसामा हुने दौडधुप र पारिवारिक जिम्मेवारीबीच पात्रहरू के सोचिरहेका हुन्छन् भन्ने कथाको वरिपरि सिनेमा घुमेको छ,’ उनी भन्छन् ।

उनी सिनेमामा आफूले एकदमै गहिरो पात्र निभाएको दाबी गर्छन् । तर, त्यो पात्र आफ्नो स्वभावभन्दा पूर्णतः फरक रहेको उनको भनाइ छ । ‘सिनेमामा मैले निभाएको पात्र मभन्दा नितान्त फरक छ । तर, मैले देखेका र महसुस गरेका यथार्थसँग जोडिएको छ । अहिलेको सामाजिक-राजनीतिक सन्दर्भसँग पनि दर्शकले यसलाई ‘कनेक्ट’ गर्न सक्नुहुन्छ,’ उनले भने ।

दयाहाङले ‘मितज्यू’मा सौगातसँग अघिल्ला सिनेमामा जस्तो सम्बन्ध नभएको पनि स्पष्ट पारेका छन् । सिनेमामा दुई पात्रको उद्देश्य नै फरक रहेको उनको भनाई छ । उनी भन्छन्, ‘हाम्रो सम्बन्ध ‘लुट’ र ‘कबड्डी’मा जस्तो यसमा छैन । सिनेमामा हामी एकअर्कासँग किन लडिरहेका छौँ भन्ने कुरा नै फरक छ । दर्शकलाई सुरुमा एउटा शंका लाग्न सक्छ, तर वास्तविक कुरा अर्कै छ ।’

सिनेमामा दयाहाङ र सौगातसहित टेरिया फौजा मगर, अनु थापा, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय छ । यो सिनेमाबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन् ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको सिनेमामा लोकेश बज्राचार्यको सम्पादन र शिशिर बिशंखेको छायांकन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का छन् ।

सिनेमामा श्रीकृष्ण बम मल्लको संगीत, संगीतकार मल्ल, मेलिना राई र लक्ष्मी मल्लको स्वर सुन्न सकिन्छ ।