‘आ बाट आमा २’मा अभिनेता सविन श्रेष्ठको अनुबन्धित

‘आ बाट आमा २’मा अभिनेता सविन श्रेष्ठको अनुबन्धित

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं । जेठ पहिलो साताबाट छायांकन सुरु हुने सिनेमा ‘आ बाट आमा २’मा यतिबेला कलाकार छनोट प्रक्रिया चलिरहेको छ । विपना थापा, प्रदीप रावत (गजनी भिलेन), पल शाह र आकाश श्रेष्ठ अनुबन्धित भइसकेको सिनेमामा अभिनेता सविन श्रेष्ठ अनुबन्धित भएका छन् । निर्देशक चन्द्र पन्तले मंगलबार उनीसँग लिखित सम्झौता गरेका हुन् ।

सविन सिनेमामा नदेखिएको तीन वर्ष भइसकेको छ । पछिल्लो पटक उनी सन् २०२२ मा प्रदर्शन भएको सिनेमा ‘म’मा देखिएका थिए । यसपछि उनले केही सिनेमा सम्झौता गरे पनि ती निर्माण हुन सकेनन् । अब ‘आ बाट आमा २’बाट कमब्याक गर्न लागेका उनी यो सिनेमामा नकारात्मक भूमिकामा देखिन लागेको बुझिएको छ ।

असोज ३० गते अर्थात् फूलपातिको अघिल्लो दिनलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमाको गत सोमबार शुभमुहूर्त भइसकेको छ । ललितपुरस्थित पाटन बंगलामुखी मन्दिरमा सिनेमाको स्क्रिप्ट र क्यामरा पूजा गरिएको थियो । गजित विष्ट र नरेन खड्काको पनि अभिनय रहने सिनेमामा अहिलेसम्म अभिनेत्रीको भने टुंगो लागेको छैन् ।

आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको प्रोडक्सन म्यानेजरमा करण सिंह रहेका छन् । यो सिनेमाको कथा तथा पटकथा निर्देशक पन्त स्वयंको हो । सिनेमाको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । यो सिनेमा अघिल्लो वर्ष प्रदर्शन भएको ‘आ बाट आमा’को सिक्वेलको रूपमा निर्माण हुन लागेको हो ।