विजय र वर्षाको ‘मालती मंगले’लाई युनिभर्सल सर्टिफिकेट

विजय र वर्षाको ‘मालती मंगले’लाई युनिभर्सल सर्टिफिकेट

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘मालती मंगले’को सेन्सर सफलतापूर्वक सम्पन्न भएको छ । २ घण्टा ३८ मिनेट लामो सिनेमाले सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको हो । यो प्रमाणपत्र बुझ्न निर्माता तथा गायक रामकृष्ण ढकाल आफैँ पुगेका थिए । यो सिनेमा वैशाख २५ गते शुक्रवार रिलिज हुँदैछ ।

सेन्सर बोर्डका सदस्यहरूको पदावधि मुक्त भएको अवस्थामा सिनेमा जाँचलाई अत्यावश्यक सेवा मानेर चलचित्र विकास बोर्डले पठाएको प्रतिनिधिको उपस्थितिमा सेन्सर गरिएको हो । यसका लागि चलचित्र विकास बोर्डका तर्फबाट दीपा बस्नेतलाई प्रतिनिधिको रूपमा पठाइएको थियो । जाँचपास समितिका अध्यक्षसहित विभिन्न मन्त्रालयका प्रतिनिधि पदेन सदस्य रहने व्यवस्था भएको हुनाले उनीहरूको उपस्थिति कायमै थियो र सोही अनुरूप सिनेमाको सेन्सर कार्य अघि बढाइएको हो ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको सिनेमा ‘मालती मंगले’को कथा निर्देशक प्रकु पाण्डेय र पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका हुन् । सिनेमामा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमाको ट्रेलर तथा टिजरसहित ‘सुनैको सपनी’, ‘ढुङ्गा माथि लेऊ’ र डान्सिङ नम्बर ‘झ्याम पारम’ जस्ता गीतले यसअघि नै दर्शकको राम्रो ध्यान तानेका छन् । सागर ज्ञवाली कार्यकारी निर्माता रहेको सिनेमाका सह-निर्माता बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ हुन् ।

प्राविधिक रूपमा उत्कृष्ट मानिएको सिनेमामा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रंग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ । आरआर फिल्म्सले वितरण गर्ने सिनेमाले दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्माण पक्षले लिएको छ ।