द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रोल नं १’ले आफ्नो लक्षित दर्शकमा मात्र केन्द्रित भएर प्रचार गरिरहेको छ । सिनेमाको कथा बालबालिकामा आधारित छ, जुन यसअघि सार्वजनिक टिजरबाट पनि प्रस्ट हुन्छ । यसैले सिनेमाको टिमले यतिबेला मोफसलका विभिन्न स्कुलको कक्षाकोठामै गएर त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई सिनेमाबारे जानकारी गराइरहेको छ ।
‘हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा सुन्न तपाईंको मन कुरा’ स्लोगन राखेर वैशाख २१ गतेबाट पूर्वी जिल्लामा सुरु भएको स्कुल प्रचार अभियान २५ वैशाखसम्म चल्ने निर्माता विनोद पौडेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म झापा, मोरङ, सुनसरी, दमक, विर्तामोडका विभिन्न स्कुलमा पुगेर सिनेमाका कलाकारहरूले विद्यार्थीसँग अन्तरक्रिया गरिसकेका छन् ।
सिनेमाको प्रचार अभियानमा निर्माता पौडेलसहित कलाकारहरू मुकुन भुसाल, रेणु योगी, कर्मा लामा, संगीतकार तथा गायक प्रशान्त सिवाकोटी लगायत सहभागी छन् । स्कुलहरूमा गायक सिवाकोटीले सिनेमामा समावेश गीत ‘रोल नं १’मा सांगीतिक प्रस्तुति समेत दिने गरेका छन् । विद्यार्थीहरूलाई सिनेमाको टिजर र गीत पनि देखाउने गरिएको छ ।
विद्यार्थीको मनोविज्ञानको कथामा आधारित सिनेमामा सुशांक मैनाली, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । जोन योञ्जनको निर्देशन तथा महेश दवाडीको लेखन रहेको सिनेमामा विनोद पौडेल र जान्वी पौडेल निर्मातामा छन् । विनोद कीर्तिमानी सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता समेत हुन् ।


प्रतिक्रिया