प्रिमियर शोमा ‘मालती मंगले’लाई सकारात्मक प्रतिक्रिया, रवीदेखि मदनकृष्णसम्मले के भने ?

प्रिमियर शोमा ‘मालती मंगले’लाई सकारात्मक प्रतिक्रिया, रवीदेखि मदनकृष्णसम्मले के भने ?

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं । वैशाख २५ गते शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘मालती मंगले’लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको छ । बुधबार ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा आयोजित प्रिमियर शोमा उपस्थित विभिन्न क्षेत्रका व्यक्तिहरूले सिनेमाको कथावस्तुदेखि कलाकारहरूको अभिनयसम्मको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

यो सिनेमाको प्रिमियरमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले सिनेमाको हरेक पक्ष उत्कृष्ट रहेको बताए । उनले भने, ‘मैले धेरैपछि सिनेमा हेर्ने मौका पाएँ । मलाई एकदमै मनपर्‍यो । यसमा कमेडी पनि छ, इमोसन पनि छ, कलाकारहरूको अभिनय तथा संवाद पनि राम्रो छ । आम दर्शक भएर हेर्दा सिनेमा निकै राम्रो छ ।’

कलाकार मदनकृष्ण श्रेष्ठले पनि सिनेमाको प्रशंसा गर्दै कथावस्तु, प्रस्तुतिकरण र कलाकारहरूको अभिनय सशक्त रहेको बताए । उनले भने, ‘समग्रमा सिनेमा राम्रो छ । मलाई कथावस्तु नै एकदमै राम्रो लाग्यो । कलाकारहरूको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन । सिनेमाले दर्शकलाई मनोरञ्जनसँगै शिक्षा र सन्देश पनि दिन्छ ।’

प्रिमियर शोमा कलाकारहरू कृष्ण मल्ल, शर्मिला मल्ल, किरण केसी, सन्दीप क्षेत्री, गायक यम बराल, गायिका रचना रिमाल लगायतको पनि उपस्थिति रहेको थियो । सिनेमा हेरेपछि प्रायले अभिनेत्री वर्षा राउत र अभिनेताद्धय विजय बराल र मेक्सम गौडेलको अभिनयको बढी प्रशंसा गरेको देखिन्थ्यो । कतिपयले यस सिनेमामा उनको अभिनयलाई करिअरकै उत्कृष्ट भनेका थिए ।

चर्चित गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको सिनेमालाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । सिनेमामा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । यो सिनेमाले एक दम्पतीको सम्बन्धमा आउने उतारचढावको कथा पेस गरेको छ ।