शुक्रबारबाट प्रदर्शनमा आए तीन सिनेमा ‘लालीबजार’, ‘मालती मंगले’ र ‘गुरुआमा’

शुक्रबारबाट प्रदर्शनमा आए तीन सिनेमा ‘लालीबजार’, ‘मालती मंगले’ र ‘गुरुआमा’

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं । वैशाख २५ गते आज तीन नेपाली सिनेमा एकसाथ प्रदर्शनमा आएका छन् । शुक्रबारबाट मिथिला शर्माको ‘गुरु आमा’, स्वस्तिमा खड्काको ‘लालीबजार’ र वर्षा राउतको ‘मालती मंगले’ले देशभरका हलमा प्रदर्शन सुरुवात गरेका हुन् । यी तीनवटै सिनेमाले उठाएको विषयवस्तु फरक-फरक भएकाले दर्शकलाई आफ्नो स्वाद र रुचिअनुसार छान्न पाउने सुविधा देखिन्छ ।

तीन सिनेमामध्ये शो संख्यामा भने ‘लालीबजार’ अगाडि देखिएको छ । यसले शुक्रबार (आज)का लागि देशव्यापी १५० भन्दा बढी शो पाएको छ । दोस्रोमा ‘मालती मंगले’ रहेको छ, जसको शो संख्या १०० हाराहारीमा छ । ‘गुरु आमा’ले भने ७१ शो पाएको खल्ती एपमा देखिन्छ । यसरी हेर्दा यी तीन सिनेमाले देशव्यापी ३ सय बढि शो पाएका छन् ।

यम थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘लालीबजार’मा बादी समुदायका आमा–छोरीको कथामा आधारित छ । यो सिनेमामा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, गोविन्द सुनार, आशा पौडेल, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

यो सिनेमा गत वैशाख १८ गते नै प्रदर्शनमा आउनु पर्ने थियो । तर, अदालतमा सिनेमाविरुद्ध मुद्धा परेपछि निर्धारित मितिमा प्रदर्शन हुन सकेन । बुधबार उच्च अदालत पाटनले यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेपछि सिनेमा प्रदर्शनको बाटो खुलेको हो । प्रदर्शनपूर्व बिहीबार काठमाडौंमा सिनेमाको प्रिमियर गरिएको थियो । जहाँ सिनेमालाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

गायक रामकृष्ण ढकालले निर्माण गरेको ‘मालती मंगले’मा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । प्रकु पाण्डेयको निर्देशन रहेको सिनेमाले एक दम्पतीको सम्बन्धमा आउने उतारचढावको कथा पेस गरेको छ ।

शुक्रबारबाट नै प्रदर्शनमा आएको ‘गुरु आमा’मा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम के।सी, राधिका हमाल लगायतका कलाकारहरूको अभिनय रहेको छ । सिनेमाको एक गीतमा अभिनेत्री पूजा शर्माले समेत नृत्य गरेकी छन् । प्रेम सोनी सुनारको निर्देशन रहेको सिनेमाले शिक्षक–शिक्षिका र विद्यार्थीबीचको सम्बन्धको कथा पेस गरेको छ ।