‘लालीबजार’लाई प्रिमियर शोमा हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले गरे तारिफ

‘लालीबजार’लाई प्रिमियर शोमा हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले गरे तारिफ

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । वैशाख २५ गते अर्थात् आज शुक्रबारदेखि नेपालभर प्रदर्शन भएको सिनेमा ‘लालीबजार’लाई प्रिमियर शोमा हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले तारिफ गरेका छन् । प्रदर्शनको पूर्व सन्ध्यामा बिहिबार साँझ गरिएको भव्य प्रिमियरमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सिनेमा हेरेपछि ‘लालीबजार’को विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको अभिनयको प्रशंसा गरेका थिए ।

कलाकार मदनकृष्ण श्रेष्ठले ‘लालीबजार’लाई पर्फेक्ट सिनेमा लागेको प्रतिक्रिया दिए । उनले भने, ‘यो सिनेमा सबै पक्षमा अब्बल छ, नेपाली कथालाई निकै राम्रोसँग पर्दामा प्रस्तुत गरिएको छ । आमा र छोरीको भावनात्मक सम्बन्धलाई सिनेमाले निकै राम्रोसँग प्रस्तुत गरेको छ । १० मा यो सिनेमाले १० नै नम्बर डिजर्भ गर्छ ।’

मदनकृष्णले सिनेमाको विषयवस्तु छनोट गरेर निर्माण पक्षले देखाएको सहासको तारिफ गरेका हुन् । कलाकार हरिवंश आचार्यले सिनेमा सामाजिक संदेशसहित मनोरञ्जनात्मक बनेको प्रतिक्रिया दिए । ‘सिनेमा एकदमै राम्रो छ, शब्दमा प्रसंशा गर्न सकिरहेको छैन । एकदमै राम्रो छ, मैले हेरेका मध्येमा राम्रो सिनेमाको सूचीमा पर्छ लालीबजार’, अभिनेता आचार्यले भने ।

प्रिमियरमा उपस्थित सिनेमाकर्मीले विषयवस्तुसँगै अभिनेत्री स्वस्तिमा खड्काको अभिनयको प्रसंशा गरेका थिए । सिनेमामा उनले निर्वाह गरेको भूमिकाले उपस्थित सिनेमाकर्मीको आँखा रसाएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वस्तिमाले आफ्नो अभिनय क्षमता पुनः प्रस्ट्याएको प्रतिक्रिया दिँदै निर्माण कम्पनि षट्कोण आट्र्सले राम्रो सिनेमा बनाएको बताए ।

प्रिमियर शोमा सिनेमा हेर्न आइपुगेकी पूर्व मन्त्री सुमना श्रेष्ठले सिनेमाले सामाजिक विभेद र त्यस विरुद्ध उठाउनु पर्ने कदमलाई फिल्मीशैलीमा सबैले बुझ्ने गरी देखाइएको बताइन । ‘षट्कोण आट्र्सले सामाजिक विषयमा सिनेमा बनाउँदै आइरहेको छ, यसपटक विषयवस्तु छनोटमा झनै परिपक्क भएको महसुस भयो । हाम्रो समाजमा रहेका राम्रा र नराम्रा पक्षलाई स्पष्टसँग सबैले महसुस गर्ने गरी देखाइएको छ । सिनेमा हेर्न आउनेले केही सिक्दै, बुझ्दै नै फर्किनुहुन्छ भन्ने मलाई लागेको छ’, श्रेष्ठले भनिन् ।

पुर्व पत्रकार तथा नेता रवीन्द्र मिश्रले नेपाली समाजको एउटा कालखण्डको क्रुर र पीडादायी विभेदको विषयलाई ‘लालीबजार’ सिनेमामा कलात्मक र सशक्त ढंगबाट चित्रण गरिएको बताए । उनले भने, ‘लालीबजारलाई किन विवादमा ल्याईयो मैले बुझिन् । यसले कलात्मक रुपमा विद्रोह बोलेको छ । यो एउटा आमाको कथा हो, जहाँ आमाले छोरीका लागि गर्ने संघर्षलाई देखाईएको छ । यो सिनेमाले दर्शकको समय र पैसाको सदुपयोग गर्दै हलबाट निस्किदै गर्दा केही दिएर नै पठाउँछ ।’

बादी समुदायकी अभियता देवीसरा बादीले सिनेमाको विषयवस्तुले आफ्नो आमाको संघर्षलाई स्मरण गएको बताइन् । उनले भनिन्, ‘यो सिनेमा मेरो पनि कथा हो । मेरो आमाले पनि मलाई संघर्ष गरेर पढाउनु भयो, मैले सिनेमा हेरिरहँदा आमालाई देखे । यो हरेक आमा र छोरीले हेर्न पर्ने सिनेमा बनेको छ । यो हरेक समुदायका महिलाले गर्व महसुस गर्ने सिनेमा बनेको छ ।’

निर्देशक तथा अभिनेता निश्चल बस्नेतले सिनेमाले देखाएको विषयले जो सुकै दर्शकको मनछुने बताए । ‘मैले सोचेको भन्दा बढी राम्रो लाग्यो सिनेमा, किनकि यसको चर्चाले नै मेरो अपेक्षा बढाएको थियो । यो सिनेमालाई सिनेमाकै रुपमा हेर्दा पनि मनोरञ्जक छ भने यसले दिएको संदेश निकै महत्वपूर्ण छ । यसले दिएको संदेश बढी भन्दा बढी दर्शकसम्म पुग्नु जरुरी छ, त्यसैले यो सिनेमा हेर्न जरुरी छ जस्तो लागेछ’, निर्देशक बस्नेतले भने ।

प्रिमियरमा सिनेमा हेरेर निस्किएका अभिनेता अनुपबिक्रम शाही, महेश त्रिपाठी, गौरी मल्ल, गरिमा शर्मा, तेरिया मगर लगायतले पनि सिनेमाको विषयले मन छोएको प्रतिक्रिया दिएका थिए ।

‘लालीबजार’ निर्देशक तथा लेखक यम थापाले सिनेमाले पाएको प्रतिक्रियाले आफू उत्साहित रहेको बताए । ‘पहिलो दर्शक बन्नुभएका सिनेमाकर्मीले दिनुभएको प्रतिक्रियाले निकै उत्साहित छु, आजदेखि सार्वजनिक रुपमा नेपालभरका हलमा प्रदर्शन भएको छ । हेर्नेले मन पराउनु हुन्छ भन्नेमा पूर्ण विश्वस्त छु’, उनले भने ।

सिनेमामा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ । यो सिनेमाबाट विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् ।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । सिनेमाका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।