विजय र वर्षको ‘मालती मंगले’लाई दर्शकको उत्कृष्ट वर्डअफ माउथ

विजय र वर्षको ‘मालती मंगले’लाई दर्शकको उत्कृष्ट वर्डअफ माउथ

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रवारबाट प्रदर्शनमा आएको सिनेमा ‘मालती मंगले’ले घरेलु बक्सअफिसमा सुखद र गतिशील व्यापार गरिरहेको छ । सुरुवाती शोहरूमा सामान्य ओपनिङ गरेको सिनेमाले शनिवार दिउँसोदेखि दर्शकको राम्रो साथ पाइरहेको छ ।

सिनेमा हेरेर निस्किएका दर्शकहरूले स्वतःस्फूर्त रूपमा दिएको उत्कृष्ट माउथ पब्लिसिटी र सकारात्मक प्रतिक्रियाकै कारण अहिले देशभरका सिनेमा घरमा दर्शकको चाप बढेको छ । दर्शकको यही उत्साहजनक उपस्थिति र उनीहरूको प्रत्यक्ष प्रतिक्रिया बुझ्न शनिवार दिनभर सिनेमाको जम्बो टोली राजधानीका विभिन्न हलहरूमा पुगेको थियो ।

निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकालसहित कलाकारहरू वर्षा राउत, विजय बराल, मेक्सम गौडेल र उमेश सुनाम हलमा पुग्दा दर्शकहरूको हुटिङ, सिट्ठी र तालीले माहौल निकै रोमाञ्चक बनेको थियो । पर्दामा देखेका कलाकारलाई प्रत्यक्ष रूपमा आफ्नै अगाडि पाउँदा दर्शकहरूको क्रेज र उत्साह हलभित्र देखिन्थ्यो ।

सिनेमा हेरेर बाहिरिएका अधिकांश दर्शकले यसलाई नेपालीपन बोकेको मास्टरपिसको संज्ञा दिएका छन् । कथावस्तु र प्रस्तुतिले दर्शकलाई पेट मिची मिची हँसाउनेदेखि लिएर आँखा रसाउनेसम्मको गहिरो भावनात्मक यात्रा गराउन सफल भएको छ । विशेष गरी अभिनेत्री वर्षा राउतको मर्मस्पर्शी अभिनय तथा अभिनेता द्वय विजय बराल र मेक्सम गौडेलको दमदार प्रस्तुतिले सबैको मन जितेको छ ।

दर्शकबाट प्राप्त यो माया र बलियो ‘वर्ड अफ माउथ’को प्रभावले आगामी दिनमा प्रकु पाण्डेय निर्देशित ‘मालती मंगले’को बक्स अफिस यात्रा थप रफ्तारमा अगाडि बढ्ने देखिएको छ ।