द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक लोकलयको गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर, सुष्मा सिग्देलको शब्द रचना तथा प्रशान्त शिवाकोटी स्वयंको संगीत छ ।
सार्वजनिक गीतमा युवतीलाई फकाउन युवकले गर्ने प्रयास र युवतीले केटाको पारिवारिक अवस्थाबारे गरेको खोजीनिती गीतमा सुन्न सकिन्छ । लाखौँको प्रेम हतारमा नलगाउन युवतीले गरेको आग्रहसँगै गीत सकिन्छ । सवाल–जवाफ शैलीमा तयार पारिएको गीत श्रवणीय बनेको छ ।
सार्वजनिक भिडियोमा विनोद न्यौपाने र जुना विश्वकर्मालगायतको अभिनय छ । गीतको भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन् । विनोद पौडेलको निर्माण रहेको सिनेमाले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा सिनेमामा समेटिएको छ ।
जोन योञ्जनको निर्देशन रहेको सिनेमामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । सिनेमाको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको सिनेमाको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । यो सिनेमालाई महेश दवाडीले लेखेका हुन् ।
हिमाली जिल्ला म्याग्दीका रमणीय ग्रामीण भेगहरूमा छायांकन गरिएको सिनेमाको डीओपी शिवराम श्रेष्ठ रहेका छन् । सिनेमामा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी र सम्पादक मदन घिमिरे हुन् ।


प्रतिक्रिया