काठमाडौंबाट सुशील र न्यान्सीको ‘अक्षरा’ छायांकन सुरु

काठमाडौंबाट सुशील र न्यान्सीको ‘अक्षरा’ छायांकन सुरु

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सुशील सिटौला र अभिनेत्री न्यान्सी खड्काको मुख्य भूमिका रहने सिनेमा ‘अक्षरा’को छायांकन सुरु भएको छ । आइतबार काठमाडौंबाट सिनेमाको छायांकन थालिएको हो । केही दिनअघि काठमाडौंको गुह्येश्वरी मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमाको निर्माण अगाडि बढाइएको थियो ।

यो सिनेमाको छायांकन तालिका एक महिनाको राखिएको छ । निर्देशक विनयराज पौडेलले सम्पूर्ण तयारी र गृहकार्यपछि छायांकन सुरु गरिएको जानकारी दिए । उनले भने, ‘हामीले कथाको मागअनुसार पटकथा र संवादमा पर्याप्त मिहिनेत गरेका छौँ । कलाकारहरूलाई पनि एक साता कार्यशाला गराएर छायांकन थालेका हौँ । सिनेमाले दर्शकलाई निराश बनाउने छैन् ।’

क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा बन्ने सिनेमामा सुशील र न्यान्सीसहित सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, रोनक खड्का, प्रीसा ढुंगानालगायतका कलाकारको अभिनय रहनेछ । ‘१२ गाउँ’बाट डेब्यू गरेकी न्यान्सीको यो तेस्रो सिनेमा हो ।

यो सिनेमाका कार्यकारी निर्माता सुरज थापाकाजी र निर्मातामा उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना छन् । अभिमन्यु निरवीले सिनेमाको पटकथा तथा संवाद तयार पारेका हुन् । दिपेन बस्न्यातले छायांकन गर्ने सिनेमामा कोरियोग्राफी रामजी लामिछाने र द्वन्द्व निर्देशन शंकर महर्जनको रहनेछ । सिनेमालाई तीजको छेको पारेर भदौ २६ गतेदेखि प्रदर्शन गरिँदैछ ।