‘मन बिनाको धन’को सिक्वेलको मुख्य भूमिकामा पूजा शर्मा अनुबन्धित

‘मन बिनाको धन’को सिक्वेलको मुख्य भूमिकामा पूजा शर्मा अनुबन्धित

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत वर्ष प्रदर्शनमा आएको संगीतकार टंक बुढाथोकी निर्देशित सिनेमा ‘मन बिनाको धन’को सिक्वेल निर्माण हुने भएको छ । निर्देशक टंकले आइतबार अभिनेत्री पूजा शर्मालाई मुख्य भूमिकामा अनुबन्धित गर्दै ‘मन बिनाको धन २’को निर्माण घोषणा गरेका हुन् । यो सिनेमाको अघिल्लो भागमा नीता ढुंगानाले मुख्य भूमिकामा अभिनय गरेकी थिइन् ।

यो सिनेमामा अनुबन्धित भएपछि पूजाले कथावस्तु र आफ्नो भूमिका मन परेकाले काम गर्न तयार भएको बताइन् । सिनेमाको कथावस्तु पारिवारिक रहेको उनको भनाइ छ । यही वैशाख अन्तिमबाट ‘महाराजधिराज’को छायांकनमा जोडिन लागेकी उनी आगामी भदौमा ‘मन बिनाको धन २’लाई समय दिने योजनामा छिन् ।

‘मन बिनाको धन’ संगीतकार बुढाथोकीको चर्चित गीतमध्ये एक हो । यो गीतलाई अहिलेसम्म युट्युबमा तीन करोडभन्दा बढी पटक हेरिसकिएको छ । यो बाल गायक अशोक दर्जीको पहिलो गीत समेत हो । यही नामको सिनेमामा पनि अशोक मुख्य भूमिकामा थिए । यसको सिक्वेलमा भने अशोकको अभिनयबारे कुनै जानकारी गराइएको छैन् ।

गत वर्ष ‘मन बिनाको धन’ले बक्सअफिसमा लगभग ४ करोडको व्यापार गरेको थियो । सिनेमाले व्यावसायिक सफलता हासिल गरेपछि टंकले यसको दोस्रो भाग बनाउन लागेका हुन् । सिनेमाको निर्देशन उनी आफैंले गर्नेछन् भने विष्णु माया मैनालीले निर्माण गर्नेछिन् । सिनेमामा शिवम् अधिकारीको लेखन रहेको छ ।