दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको ‘मालती मंगले’को ‘चुड्का भजन’ सार्वजनिक

दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको ‘मालती मंगले’को ‘चुड्का भजन’ सार्वजनिक

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘मालती मंगले’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहँदा निर्माताले भजन गीत सार्वजनिक गरेका छन् । ‘चुड्का भजन’ बोलको गीतमा पुरुषोत्तम ढुंगेलको शब्द रचना र किरण भुसाल लगायतको स्वर सुन्न सकिन्छ । किरण स्वयंको संगीत निर्देशन रहेको गीतमा परम्परागत चुड्का लयको प्रयोग गरिएको छ ।

गाउँघरमा विशेष पूजाआजापछि साँझको समयमा हुने भजन कीर्तनको परिवेशमा तयार पारिएको गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेता विजय बराल मादल बजाइरहेका देखिन्छन् भने वर्षा राउत र मेक्सम गौडेल छमछमी नाचेका छन् । गीतमा मानिसको जीवनलाई कर्कलाको पानीसँग तुलना गर्दै लोभमोह त्यागेर बाँच्नुपर्ने भाव समेटिएको छ ।

चर्चित गायक रामकृष्ण ढकालले निर्माण गरेको सिनेमाले बक्सअफिसमा अपेक्षाअनुसार व्यापार गर्न नसके पनि दर्शकबाट प्राप्त प्रतिक्रिया उत्साहजनक देखिन्छ । दर्शकहरूले ‘नेपालीपन बोकेको सिनेमा’ भन्दै प्रशंसा गरिरहेका छन् । यो सिनेमाबाट सबैभन्दा बढी वाहवाही वर्षा राउतको भइरहेको छ । उनको अभिनयलाई दर्शक र समीक्षकले अहिलेसम्मकै उत्कृष्ट भनेका छन् ।

प्रकु पाण्डेयको निर्देशनमा निर्माण भएको सिनेमामा विजय, वर्षा र मेक्समसहित प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । सागर ज्ञवाली कार्यकारी निर्माता रहेको सिनेमाले एक दम्पतीको सम्बन्धमा आउने उतारचढावको कथा पेस गरेको छ ।