दुई मितबीचको मित्रता र झगडामा ‘मितज्यू’को रोचक ट्रेलर सार्वजनिक

दुई मितबीचको मित्रता र झगडामा ‘मितज्यू’को रोचक ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मितज्यू’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट १४ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले सिनेमाको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ ।

पेसाले चालक रहेका दुई मितबीचको मित्रता र झगडालाई ट्रेलरमा रोचक शैलीमा देखाइएको छ । पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई पनि सिनेमाले प्रस्तुत गर्ने ट्रेलरले संकेत गर्छ ।

आधुनिकताको बढ्दो प्रवेशसँगै मित लगाउने चलन (रगतको नाता नभएका दुई व्यक्तिबीच आजीवन मित्रताको गाँठो कस्ने परम्परा) हराउन थालिसकेको छ । सामाजिक सद्भाव र भाइचाराको सम्बन्ध स्थापित गर्ने यो परम्परा नेपालमा प्रयोगहीन बन्दै गइरहेका बेला सिनेमा ‘मितज्यू’ यही विषयमा निर्माण भएको छ ।

सिनेमामा दयाहाङ राई, सौगात मल्ल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, खड्गबहादुर पुन, अनुषा राईलगायतका कलाकारको अभिनय देख्न सकिनेछ । यही सिनेमाबाट चर्चित डान्सर टेरिया फौजा मगरले अभिनेत्रीको रूपमा डेब्यू गरेकी छन् । ट्रेलरमा उनको अभिनय सशक्त देखिएको छ ।

अनिल बुढा मगरको निर्देशनमा बनेको सिनेमाका लगानीकर्ता जनक घर्ती मगर हुन् । यसअघि अनिल र जनकले ‘घरज्वाइँ’मा सहकार्य गरेका थिए, जुन व्यावसायिक रूपमा सफल भएको थियो ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा महेश राईको लेखन, शिशिर बिशंखेको छायांकन तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।