द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘कमला मिस’को टिजर सार्वजनिक गरिएको छ । यो टिजरले आमाबुबाको मायाबाट बञ्चित एक बालकको मनोविज्ञान र त्यसले उसको जीवनमा पार्ने प्रभावलाई भावनात्मक रूपमा प्रस्तुत गरेको संकेत गर्छ ।
बरिष्ठ अभिनेता नीर शाहको निर्देशनमा निर्माण भएको सिनेमामा उनी स्वयं मुख्य भूमिकामा छन् । उनीसहित सिनेमामा रमेश बुढाथोकी, बासना तिमल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, सञ्जय खतिवडा, भोला सुवेदी (आरजे प्रणव) लगायतका कलाकारको अभिनय छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको सिनेमामा उमेश मल्ल र चैतन्य प्रधान कार्यकारी निर्मातामा छन् । सिनेमाको कथा स्वर्गीय साहित्यकार विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन् । सिनेमामा शिवराम श्रेष्ठको छायांकन तथा युग भुसालको संगीत रहेको छ ।
‘कमला मिस’बाट नीर शाह करिब १० वर्षपछि निर्देशनमा फर्किएका हुन् । पछिल्लो पटक उनले सन् २०१५ मा साहित्यकार डायमनसम्शेर राणाको उपन्यास ‘सेतो बाघ’मा आधारित सोही नामको सिनेमा निर्देशन गरेका थिए । यसबाहेक उनले ‘वासुदेव’, ‘पच्चीस बसन्त’, ‘राजमती’, ‘वसन्ती’ र ‘मसान’ जस्ता सिनेमा निर्देशन गरिसकेका छन् ।


प्रतिक्रिया