सशान कँडेल निर्देशित ‘बेहुली’को छायांकन ४५ दिनमा सकियो

सशान कँडेल निर्देशित ‘बेहुली’को छायांकन ४५ दिनमा सकियो

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । टिकटकर तथा अभिनेता पारस बम ठकुरी (कुल ब्वाय) र अभिनेत्री दिव्या रायमाझीको मुख्य भूमिका रहेको सिनेमा ‘बेहुली’को छायांकन सकिएको छ । गत बिहीबार अन्तिम दृश्य खिचिएसँगै ४५ दिनमा सिनेमाको छायांकन पूरा भएको हो । सिनेमाका दुईवटा गीत भने खिच्न बाँकी राखिएको छ । यो सिनेमा भदौ १२ गते प्रदर्शन हुँदैछ ।

‘होस्टेल ३’का निर्देशक सशान कँडेलको निर्देशनमा निर्माण भएको सिनेमामा पारस र दिव्यासहित सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, समायरा थापा मगर लगायतका कलाकारको अभिनय छ । पारस र दिव्यालाई पहिलो पटक पर्दामा हेर्न दर्शकलाई रोचक हुने देखिन्छ ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमालाई संगीतकार अर्जुन पोखरेलले निर्माण गरेका हुन् । दुई दशकदेखि गीतसंगीत क्षेत्रमा सक्रिय उनी यही सिनेमामार्फत निर्माणमा होमिएका हुन् । उनले संगीत भरेका ‘तिमी रोएको पल’, ‘सँग सँगै सहेको’, ‘नबोली नबोली’, ‘मेसो मिलाएर’, ‘रहर छ सँगै’ जस्ता गीत निकै लोकप्रिय छन् ।

माधव शर्माको लेखन रहेको सिनेमामा सुमन थिङ तामाङ कार्यकारी निर्माता तथा दुर्गा खरेल (गायिका) र रमेश सिलवाल सह-निर्मातामा रहेका छन् । शंकर कोइराला क्रिएटिभ प्रोड्युसरको रूपमा छन् । सिनेमालाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् भने सम्पादन विकास दाहालले गर्नेछन् । सिनेमामा द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ ।