नेपाली सिनेमा ‘एलिफेन्ट्स इन द फग’ले कान्समा जित्यो ‘जुरी प्राइज’ अवार्ड

नेपाली सिनेमा ‘एलिफेन्ट्स इन द फग’ले कान्समा जित्यो ‘जुरी प्राइज’ अवार्ड

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘एलिफेन्ट्स इन द फग’ले विश्व प्रतिष्ठित कान्स सिनेमा महोत्सवमा ‘जुरी प्राइज’ अवार्ड जितेको छ । शनिबार बिहान फ्रान्समा आयोजित कान्सको समापन समारोहमा सिनेमाले यो अवार्ड जितेको हो । अवार्ड ग्रहण गर्न सिनेमाका लेखक तथा निर्देशक अविनाश विक्रम शाह नेपालको झण्डा ओढेर स्टेज उक्लिएका थिए ।

कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको यो सिनेमा गत बिहीबार प्रिमियर भएको थियो । यस विधाको मुख्य अवार्ड ‘अन सर्टेन रिगार्ड प्राइज’ भने अस्ट्रियाकी चर्चित निर्देशक सान्ड्रा वुल्नरको मनोवैज्ञानिक ड्रामा ‘एभ्रिटाइम’ले प्राप्त गर्‍यो । यसपछिको दोस्रो महत्त्वपूर्ण अवार्ड नेपालले जितेको हो । योसँगै कान्समा नेपाली सिनेमाले इतिहास रचेको छ ।

कान्सको समापन समारोहमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल पनि उपस्थित थिइन् । उनले ‘एलिफेन्ट्स इन द फग’ले अवार्ड जितेको एक भिडियो सामाजिक सञ्जालमा सेअर गर्दै लेखेकी छन्, ‘कान्स सिनेमा महोत्सवमा नेपालले भर्खरै इतिहास रचेको छ । यो केवल एक सिनेमाको जित होइन, नेपाली सिनेमाका लागि ऐतिहासिक क्षण हो ।’

यो सिनेमाको बिहीबार कान्समा वर्ल्ड प्रिमियर भएपछि विश्वका चर्चित सिनेमाकर्मीहरूले प्रशंसा गरेका थिए । बलिउडका प्रसिद्ध निर्देशक तथा कलाकार अनुराग कश्यपले लेटरबक्सडीमा प्रतिक्रिया जनाउँदै यो सिनेमाबाट नेपाली सिनेमाले विशाल फड्को मारेको उल्लेख गरेका छन् । उनले सिनेमाको क्लाइमेक्सलाई आफूले कान्समा हेरेको सबैभन्दा उत्कृष्ट दृश्य समेत भनेका छन् ।

यो सिनेमाबारे अन्तर्राष्ट्रिय मिडियाहरूले समीक्षा समेत प्रकाशन गरेका छन् । प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले एक ट्रान्सजेन्डर समुदायमाथि आधारित मनछुने सिनेमा भन्दै समीक्षा लेखेको छ । निर्देशक शाहले दक्षिण एसियामा ट्रान्स पहिचानप्रतिको स्वीकृतिको लेनदेनमुखी स्वरूपलाई सूक्ष्म रूपमा प्रस्तुत गरेको समीक्षामा उल्लेख छ ।

‘एलिफेन्ट्स इन द फग’ले जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथामा निर्माण भएको हो । सिनेमामा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्की लगायतका कलाकारको अभिनय छ । यो सिनेमालाई यही वर्ष नेपालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

अण्डरग्राउण्ड टकिज नेपालको तर्फबाट अनुप पौडेल निर्माता छन् भने जयन्ती कृएसन्सको तर्फबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल र प्रचण्डमान श्रेष्ठ निर्माताको रूपमा जोडिएका छन् । मीनबहादुर भाम, प्रवेश गुरुङ, केकी अधिकारी, प्रतीक सुवेदी लगायतका सिनेमाकर्मीले समेत निर्माणमा साथ दिएका छन् ।