द सिनेमा टाइम्स, काठमाडौं । म्युजिकल छोटो सिनेमा ‘तिमी एक रहस्य’मा समावेश पहिलो गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ । आरबी पुनको अवधारणामा तयार भएको यो गीतमा प्रताप दासको स्वर सुन्न सकिन्छ । यो गीतका गीतकार प्रताप शाही र संगीतकार सुवास पुन मगर हुन् ।
सार्वजनिक गीतको भिडियोमा सामाजिक र पारिवारिक कथालाई मार्मिक र कलात्मक रूपमा प्रस्तुत गरिएको छ । विशेषगरी सामाजिक सञ्जाल (फेसबुक) बाट सुरु हुने प्रेम, पारिवारिक हैसियत र वर्गमा हुने अन्तर तथा सहर र गाउँको परिवेशलाई अर्थपूर्ण संवादसहित भिडियोमा जीवन्त रूपमा उतारिएको छ ।
उत्तम हुमागाईँको छायांकन रहेको भिडियोलाई हरि हुमागाईँले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोमा आशीर्वाद क्षेत्री, अश्विनी शाही, राजाराम पौडेल, विशाल पहाडी, संगी अधिकारी पोखरेल, सृष्टि घिमिरे र चेतना काफ्ले जस्ता अनुभवी तथा नवोदित कलाकारको अभिनय देख्न सकिन्छ ।
नर्वेमा बसोबास गर्दै आएका नेपाली युवाहरूको संस्था धड्कन नेपाल ग्रुपले गीतको निर्माण गरेको हो । केवल मनोरञ्जनमा मात्र सीमित नरही व्यावसायिक कामसँगै सामाजिक सेवालाई पनि अगाडि बढाउने उद्देश्यले निर्माण टिमले गीत रिलिज गर्नु पूर्व एउटा उदाहरणीय कार्य गरेको छ । गीत सार्वजनिक गर्नुअघि निर्माण टोली भक्तपुरस्थित सहारा केयर सेन्टर पुगेर त्यहाँ आश्रित वृद्ध वृद्धाहरूलाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।
यो सहयोग हस्तान्तरण कार्यक्रममा भिडियोका निर्देशक हरि हुमागाईँ तथा कलाकारहरू आशीर्वाद क्षेत्री र चेतना काफ्ले लगायतको उपस्थिति रहेको थियो । धड्कन नेपाल ग्रुपका संस्थापकहरू संगीतकार मगर र गीतकार शाही हुन् । लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहेका संगीतकार मगर हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाका अध्यक्षसमेत हुन् ।
यो प्रोजेक्टका व्यवस्थापक दिपेन गौतम हुन् भने कार्यकारी निर्माता भगवान भुजेल हुन् । प्रवीण मानन्धरले रंग संयोजन गरेका छन् । धड्कन नेपाल ग्रुपको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोले कला र सामाजिक कार्यको सुन्दर संयोजन प्रस्तुत गरेको छ । उत्कृष्ट निर्माण र अर्थपूर्ण कथावस्तु बोकेको सांगीतिक कोसेलीलाई दर्शक र श्रोताले रुचाउने अपेक्षा निर्माण पक्षले लिएको छ ।


प्रतिक्रिया