द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने ‘आ बाट आमा २’मा अभिनेत्री निकिता आचार्य अनुबन्धित भएकी छन् । यसअघि ‘मेरो डान्स युनिभर्स २’की विजेता रिश्ता गुरुङलाई अनुबन्ध गरेको निर्माण टिमले दोस्रो अभिनेत्रीको रुपमा आचार्यसँग सम्झौता गरेको हो । बिहीबार काठमाडौंमा निर्देशक पन्त र निकिताबीच लिखित सम्झौता भएको थियो ।
निकिताको यो पहिलो सिनेमा भने होइन । गत वर्ष प्रदर्शनमा आएको सिनेमा ‘खेल’बाट उनले डेब्यू गरेकी थिइन् । उनको दोस्रो सिनेमा ‘श्री बुकुरो’ गत फागुनमा प्रदर्शन भएको थियो । अभिनयको हिसाबले ‘आ बाट आमा २’ उनको तेस्रो सिनेमा हुनेछ । उनले ‘यौटा सपनाको अवसान’ नामक नाटकमा समेत अभिनय गरेकी थिइन् ।
दशैंको अवसर पारेर असोज ३० गते (फूलपातिको अघिल्लो दिन)बाट प्रदर्शनमा आउने सिनेमामा विपना थापा, पल शाह, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत (गजनी भिलेन), साइग्रेस पोखरेल (स्टोरीटेलर), गजित विष्ट, दीलिप ओखेडा, नरेन खड्कालगायतका कलाकारको अभिनय रहनेछ । यो सिनेमाको छायांकन जेठ १८ गतेबाट सुरु हुँदैछ ।
आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्मातामा करण सिंह रहेका छन् । यो सिनेमाको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले तयार पारेका हुन् । यो सिनेमा गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’को सिक्वेलको रूपमा निर्माण हुन लागेको हो । सिनेमाको पहिलो भाग सकिएको ठाउँबाट कथा अघि बढ्ने जनाइएको छ ।


प्रतिक्रिया