द सिनेमा टाइम्स, काठमाडौं । डार्क कमेडी सिनेमा ‘जिरो डिग्री’को फर्स्टलुक भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार सार्वजनिक फर्स्टलुकमार्फत सिनेमाको प्रदर्शन मिति आगामी तिहारलाई घोषणा गरिएको हो ।
यो फर्स्टलुक भिडियोले सिनेमाप्रति दर्शकको कौतूहलता तीव्र बनाएको छ, जसमा अभिनेता विजय बराललाई ‘पुन्य चौलागाईँ’ नामक वडा अध्यक्षको निकै फरक र रोचक अवतारमा प्रस्तुत गरिएको छ ।
फर्स्टलुक भिडियोको पृष्ठभूमिमा गुन्जिने ‘जहाँ समस्या त्यहाँ पुन्य चौलागाईँ’ भन्ने संवाद र लगत्तै पुन्यको ‘यो गाउँमा बाहेक अरु को नै छ र मेरो आफ्नो’ भन्ने संवादले उनी गाउँको एक चलाख र चतुर जनप्रतिनिधि हुन् भन्ने प्रस्ट पार्छ । बाक्लो जुँगा, चस्मा, ढाका टोपी र सुटमा सजिएका विजय बरालको एउटा दृश्य निकै प्रतीकात्मक र व्यङ्ग्यात्मक छ ।
‘पुन्य चौलागाई वडा अध्यक्ष’ लेखिएको नेमप्लेट अगाडि बसेर उनले पैसा बुझिरहेका (लेनदेन गरिरहेका) छन्, तर विडम्बना नै मान्नुपर्छ, उनको पछाडि भित्तामा टाँसिएको बोर्डमा भने ठुला अक्षरले ‘भ्रष्टाचारलाई रोकौँ !’ लेखिएको छ । यसले सिनेमामा नेपाली राजनीतिको यथार्थ र नेताहरूको दोहोरो चरित्रलाई डार्क कमेडीको माध्यमबाट कसिलो व्यङ्ग्य प्रहार गरिएको संकेत गर्छ ।
वडा अध्यक्ष पुन्य चौलागाईँ सेतो घोडामा चढेर हातमा दुईवटा स्ट्यान्ड फ्यान बोकेर हिँडिरहेको र गाउँलेहरूले पहाडी बाटोमा एउटा ठुलो काठको बाकस बोकेर हिँडिरहेको दृश्यले कथाको गहिराइलाई थप रहस्यमयी बनाएको छ ।
सिनेमाको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूमा केन्द्रित छ । भिडियोमा गाउँलेले बोकेको उक्त काठको बाकसभित्र त्यही ‘डीप फ्रिज’ रहेको सहजै अनुमान गर्न सकिन्छ ।
‘जिरो डिग्री’मा यसअघि हिट सिनेमा ‘बेहुली फ्रम मेघौली’ निर्माण तथा निर्देशन गर्ने जोडी सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन एवं पटकथा रहेको छ ।
मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाको कास्कीको धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगर लगायतका रमणीय बस्तीहरूमा छायांकन गरिएको छ । सिनेमामा विजयसहित प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली लगायतका कलाकारको अभिनय छ ।
मोती कार्की कार्यकारी निर्माता रहेको सिनेमालाई निशाल पौडेलले खिचेका हुन् । चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन र अंकित बाबु अधिकारीको संगीत रहेको सिनेमालाई काठमाडौं उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले वितरण गर्नेछन् । यो सिनेमाले तिहारको बिदामा दर्शकलाई भरपूर मनोरञ्जन दिने विश्वास निर्माण पक्षको छ ।


प्रतिक्रिया