द सिनेमा टाइम्स, काठमाडौं । जेठ १५ गते आज शुक्रबारबाट तीन सिनेमा ‘रोल नं १’, ‘सेप अफ मोमो’ (छोरा जस्तै) र ‘कुम्भ’ एकसाथ प्रदर्शनमा आएका छन् । यी तीनवटै सिनेमा फरक कथा र कथ्य शैलीमा निर्माण भएका हुन् ।
‘रोल नं १’ बाल मनोविज्ञानमा आधारित सिनेमा हो । समाजमा आफ्नो इज्जत र प्रतिष्ठाका लागि अभिभावकले आफ्नो सन्तानलाई दिने पढाइको दबाब र त्यसले पार्ने प्रभावको कथा सिनेमाले प्रस्तुत गरेको छ । यसमा मुकुन भुसाल, रेणु योगी, निर्भिक रेग्मी, सुशांक मैनाली, सिर्जना अधिकारी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
‘रोल नं १’लाई कीर्तिमानी सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेका हुन् । यसैले पनि सिनेमाप्रति दर्शकमा उच्च अपेक्षा देखिएको छ । जोन योञ्जनको निर्देशनमा निर्माण भएको सिनेमामा महेश दवाडीको लेखन, शिवराम श्रेष्ठको छायांकन, मदन घिमिरेको सम्पादन, रोहित शाक्यको पार्श्व संगीत तथा उत्तम प्रधानको साउन्ड डिजाइन रहेको छ ।
‘शेप अफ मोमो’ भने भारत र नेपालमा एकसाथ प्रदर्शनमा आएको हो । भारतमा यो सिनेमालाई तमिल अभिनेता राणा दग्गुबतीको ‘स्प्रिट मिडिया’ले प्रदर्शनमा सहयोग गरेको छ भने जोया अख्तर, पायल कपाडिया जस्ता भारतीय सिनेमाकर्मी कार्यकारी निर्मातामा छन् । यो सिनेमाले विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागी भएर केही अवार्ड समेत जितेको छ ।
सिक्किमकी त्रिवेणी राईको निर्देशनमा निर्माण भएको सिनेमामा भानु माया राई, गौमाया गुरुङ, पशुपति राई, राहुल मुखिया, श्यामाश्री शेर्पालगायतका कलाकारहरूको अभिनय रहेको छ । सिनेमाले सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा एउटै परिवारका तीन पुस्ताका महिलाहरूको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत र पहिचानको कथा प्रस्तुत गरेको छ ।
त्यस्तै, ‘कुम्भ’ प्रेम र बदलाको कथामा आधारित छ । रन्धिर श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमामा अशोक आर्यन, सुनील थापा, सुशील पोखरेल, रोहित रूम्बा, सृष्टि खड्का, सुरेन्द्र ठाकुरलगायतका कलाकारहरूको अभिनय रहेको छ । सिनेमाले देशभरका हलमा न्युन शो पाएको छ ।


प्रतिक्रिया