ओटीटी प्लाटफर्म सिनेमाघर एपमा रिलिज भयो ‘जारी २’

ओटीटी प्लाटफर्म सिनेमाघर एपमा रिलिज भयो ‘जारी २’

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत वर्ष व्यावसायिक सफलता हासिल गरेको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ नेपालको अग्रणी ओटीटी प्लाटफर्म सिनेमाघर एपमा रिलिज भएको छ । शुक्रबार सिनेमालाई विश्वभरका दर्शकले हेर्न मिल्ने गरी एपमा रिलिज गरिएको हो । दर्शकले यो सिनेमा ‘एचडी’ क्वालिटीमा १९९ रुपैयाँ र ‘फोरके’ क्वालिटीमा २९९ रुपैयाँ तिरेर हेर्न सक्नेछन् ।

यो सिनेमालाई कवि उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । लिम्बू समुदायको मौलिक सांस्कृतिक बाजा च्याब्रुङलाई केन्द्रमा राखेर सिनेमाले एक दम्पती (हाङ्मा र नाम्साङ)को सम्बन्धमा आउने उतारचढावको कथा पेस गरेको छ । यो सिनेमा २०८० सालमा प्रदर्शन भएको ‘जारी’को सिक्वेल हो । सिनेमाले घरेलु बक्स अफिसमा ६ करोडमाथिको व्यापार गरेको थियो ।

द्वन्द्वकालको समयलाई समेत कथामा समेटिएको सिनेमामा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बूलगायतका कलाकारहरूको अभिनय रहेको छ । बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमाका निर्माताहरू रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् ।

सिनेमाघर एपमा ‘जारी २’सहित ‘१२ गाउँ’, ‘पिताम्बर’, ‘गाउँ आएको बाटो’, ‘बोक्सीको घर’, ‘प्रसाद २’, ‘छक्का पञ्जा ४’, ‘झिँगेदाउ’, ‘पशुपति प्रसाद २’ जस्ता दर्जनौं सिनेमाहरू स्ट्रिमिङ भइरहेका छन् । सिनेमाघरले दर्शकको सहजताका लागि विभिन्न माध्यमबाट सिनेमा हेर्न सकिने व्यवस्था मिलाएको छ । स्मार्टफोनदेखि स्मार्ट टिभीहरूमा सहजै ‘सिनेमाघर एप’ डाउनलोड गर्न सकिन्छ ।