द सिनेमा टाइम्स, काठमाडौं । ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘हली’ साउन २२ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माताले दुईवटा आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । सिनेमाले घोषणा गरेको यो मितिमा नीर शाह निर्देशित सिनेमा ‘कमला मिस’ पनि प्रदर्शन हुने तयारीमा छ ।
सिनेमाको एक पोस्टरमा कलाकारहरू सरोज खनाल, प्रमोद दीप, ओम प्रतीक, सुजता थापा र अर्जुन गुरुङ (भंगेरी डन) देखिएका छन् । पहाडी भूगोललाई पृष्ठभूमिमा राखिएको पोस्टरमा एक महिलाले ढुंगाको जीर्ण घरमा बसेकी युवतीलाई खाना दिइरहेको दृश्य पनि समावेश छ । यसले छाउपडी प्रथाको कथामा सिनेमा आधारित रहेको संकेत गर्छ ।
अर्को पोस्टरमा प्रमोद र सुजतासहित सिनेमाको ‘चान्स पाए त’ बोलको गीतमा नृत्य गरेका कलाकारहरू दीलिप रायमाझी, किरण केसी, दीपाश्री निरौला, पूजा शर्मा र प्रियंका कार्की देखिएका छन् । उनीहरू सिनेमाको यस गीतमा मात्र देखिनेछन् । निर्माण पक्षले करिब एक वर्षअघि यो गीत सार्वजनिक गरेको थियो, जसलाई युट्युबमा २५ लाखभन्दा बढीले हेरिसकेका छन् ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमामा सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, प्रमोद दीप, सुजता थापा, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी, ओम प्रतीकलगायतका कलाकारहरूको अभिनय रहेको छ । पूजा गुरुङ (गर्वी) र जस्मिन श्रेष्ठले सिनेमाको निर्माण गरेका हुन् ।
अर्जुन भुसाल कार्यकारी निर्माता र नम्रता भण्डारी सह-निर्माता रहेको सिनेमामा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन, विपिन मल्लको सम्पादन, शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत, कविराज गहतराज र ओम प्रतीकको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । यो सिनेमाको वितरण नेशनल सिने ग्रुपले गर्नेछ ।


प्रतिक्रिया