‘आइ एम जीत बहादुर’को ट्रेलर सार्वजनिक

‘आइ एम जीत बहादुर’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता जितु नेपालको लगानी र मुख्य भूमिका रहेको सिनेमा ‘आइ एम जीत बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने सिनेमाको ट्रेलर गत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो ।

सार्वजनिक ट्रेलरले गाउँबाट सपना बोकेर शहर आएका एक युवाले कलाकार बन्नका लागि भोग्नुपरेका संघर्ष, चुनौती र यात्रालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ । ट्रेलरमा अभिनेता जितु नेपालको फरक अवतार देख्न सकिन्छ, जहाँ उनले कलाकार बन्ने सपना पछ्याइरहेका युवाको भूमिका निभाएका छन् ।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको कथा तथा निर्देशनमा निर्माण भएको सिनेमामा जितु नेपालको अपोजिटमा अभिनेत्री वर्षा राउत देखिएकी छन् । यसअघि सिनेमाको सार्वजनिक गरिएको टिजरले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमले जनाएको छ ।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल तथा सह-निर्मातामा राजन सिंखडा र दीपेन्द्र अधिकारी छन् । सिनेमामा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा ‘बाबा’, निरज नेपाल, अंशु महर्जन लगायत कलाकारको अभिनय रहेको छ ।

भारतीय सिनेमाटोग्राफर अरविन्दको छायांकन रहेको सिनेमाको पोष्ट-प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जानकारी दिएको छ । तीन दशकभन्दा लामो कलाकारिता यात्रामा हास्यदेखि चरित्र अभिनयसम्म फरक पहिचान बनाएका जितु नेपालका लागि यो सिनेमा विशेष छ । ‘आइ एम जीत बहादुर’को वितरक आरआर फिल्मस् र डिजिटल अधिकार ओएसआरले लिएको छ ।