द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने सिनेमा ‘आ बाट आमा २’को मुख्य अभिनेत्रीमा मलिका महत अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिमले उनलाई सिनेमाको मुख्य भुमिकामा अनुबन्धित गरेको हो । मलिका अनुबन्ध भएसँगै सिनेमाक तीन वटै अभिनेत्री फाइनल भएका हुन् ।
यसअघि अभिनेत्रीका रुपमा रिश्ता गुरूङ, निकिता आचार्य अनुबन्ध भइसकेका थिए । अब मलिका महत अनुबन्ध भएपछि अभिनेत्रीको लाइनअप फाइनल भएको हो । आइतबार निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई सिनमाका लागि अनुबन्ध गरेका हुन् । दर्शकले पल शाहको जोडी मलिका महत खोई भन्दै चर्चा गरिरहेका थिए । दर्शकको इच्छा अनुसार मलिका महत यो सिनेमामा जोडिएकी छन् ।
सिनेमामा पल शाह, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का अनुबन्धित भइसकेका छन् । यो सिनेमाको कथा तथा पटकथा निर्देशक पन्त स्वयंमले लेखेका हुन् । केहि सातापछि नै फ्लोरमा जाने तयारीमा रहेको यो सिनेमा आगामी दसैंमा अर्थात अशोज ३० गतेबाट प्रदर्शनमा आउनेछ ।
यो सिनेमाको घोषणा हुँदै गर्दा केहि देशमा प्रदर्शन अधिकार समेत बिक्री भइसकेको छ । अमेरिका र क्यानडामा यो सिनेमा बिक्रि भइसकेको निर्माण पक्षले जानकारी दिएको छ । त्यहाँ प्रदर्शनका लागि वितरक डोको फिल्म्सले महँगो रकममा खरिद गरेको छ । नेपालमा सिनेमाको वितरण आरआर फिल्मस्ले गर्दैछ । डिजिटल अधिकार ओएसआरले लिएको छ ।
आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने सिनेमाको प्रोडक्सन म्यानेजर करणसिंह रसाली छन् । गत वर्ष प्रदर्शनमा आएको सिनेमा ‘आ बाट आमा’को यो सिक्वेल हो । यो सिनेमाले गत वर्ष झण्डै १४ करोडको बक्स अफिस कलेक्सन गरेको थियो । पहिलो भागको कथालाई नै निर्देशक पन्तले निरन्तता दिदै सिक्वेल निर्माण गर्दैछन् ।


प्रतिक्रिया