द सिनेमा टाइम्स, काठमाडौं । विभिन्न संस्करणको बेइजिङ अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा उत्कृष्ठ ठहर भएका चिनियाँ सिनेमाहरू नेपालमा प्रदर्शन हुने भएका छन् ।
बेइजिङ अन्तर्राष्ट्रिय सिनेमा महोत्सव प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा‘ अन्तर्गत रहेर आगामी जुन २ देखि ४ सम्म ६ अवार्ड विजेता चिनियाँ सिनेमा काठमाडौंमा देखाइने भएको हो ।
चीन सिनेमा प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय सिनेमा महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर सिनेमा प्रदर्शजन गर्ने तय भएको हो ।
यसका लागि काठमाडौंस्थित चिनियाँ सास्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्टका कन्फुसियस इन्स्टिच्युटहरूको पनि सहयोग रहेको छ।
ठमेलस्थित छायाँ सेन्टरमा ६ वटै सिनेमाहरू सशुल्क प्रदर्शन गरिने व्यवस्थापक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।
चिनियाँ चलचित्र उद्योगसँग नेपाली सिनेमाकर्मीको सम्बन्ध विस्तार हुने उद्देश्यका साथ आफूहरू जोडिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए ।
अध्यक्ष पाठकले भने, ‘चिनियाँहरू नेपाली बजारमा आकर्षित भइरहेको पाइन्छ । जसका कारण नेपाली सिनेमाकर्मीहरूलाई चीन भ्रमण गराउने तथा चीनमा नेपाली सिनेमाको महोत्सव गराउने कार्यमा चिनियाँ सहयोग बढ्न थालेको छ । हामीले पनि चिनियाँ सिनेमाहरूलाई नेपाली दर्शकमाझ प्रदर्शनमा सहकार्य गरेर दुई देशका सिनेमाकर्मीबीच सम्बन्ध विस्तार होस् भन्ने पक्षमा केन्द्रित छौं । नेपाली सिनेमा चीनको ठूलो बजारमा प्रवेश गर्ने माध्यम यस्तै कार्यक्रमहरू उपयुक्त अवसर बन्न सक्छन् भन्ने ठानेर बिगत लामो समयदेखि हामी अभियानमा छौं र त्यो समय नजिक आयो भन्ने हामीलाई लागेको छ।’
जनु २ (जेष्ठ १९) मा प्रदर्शन हुने सिनेमा
कार्यक्रमको पहिलो दिन तीन सिनेमा देखाइने तालिका रहेको छ । बिहान साढे ११ बजे सुरु हुने यस कार्यक्रममा पहिलो सिनेमा ‘ट्रयाप्’ प्रदर्शन हुनेछ जुन सन् १९९५ मा चीनमा बन्दुक प्रतिबन्ध हुनुभन्दा एक वर्षअघि जेलबाट भागेको एक गुण्डाले सहरमा बिताण्डा मच्चाएको कथामा आधारित छन् ।
क्राइम थ्रिलर जनरामा बनेको यस सिनेमाको निर्देशक सागर झाङ हुन् । यसले बेइजिङ अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा उत्कृष्ट पटकथा र सह-अभिनेताको अवार्ड जितेको थियो । निर्देसक झाङ्गको दर्सक संग प्रश्नोत्तर पनि हुने जनाइएको छ।
दिउँसो ३ बजे प्रदर्शन सुरु हुने झिहाई लिउद्वारा निर्देशित सिनेमा ‘बियोन्ड द स्काइज’ युद्धको कथामा बनेको सिनेमा हो ।
बेलुको ५ बजेबाट प्रदर्शन हुने सिनेमा ‘समर डायरी’का निर्देशक वु शुआङ हुन् । आमाको खोजीमा निस्किएका एक पात्रको यात्रामा यो सिनेमा बनेको छ ।
अन्य सिनेमा (जेष्ठ २०-२१)
रुई कुई र सियाङ लिउ निर्देशित सिनेमा ‘लस्ट इन द स्टार’ प्रदर्शन हुने तालिका छ । यो सिनेमा गर्भवती महिला हराएको रहस्यमी घटनामा आधारित छ ।
‘द स्याडोलेस टावर’ झाङ लु निर्देशित यस सिनेमा प्रेम कथामा आधारीत छ ।
दाशाङ कोङ निर्देशित साइन्स फिक्सन सिनेमा ‘जर्नी टु द वेस्ट’ प्रदर्शन हुनेछ । एलियनको खोजीको कथामा बनेको यो सिनेमा ब्यङ्ग्यात्मक वृत्तचित्र शैलीमा बनेको छ ।


प्रतिक्रिया