द सिनेमा टाइम्स, काठमाडौं । लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’को सिजन-२ अन्तर्गत प्रसारण हुन लागेको एपिसोड-६० नेपाल प्रहरीलाई समर्पित विशेष ट्रिब्युट एपिसोड रहने भएको छ ।
कार्यक्रमका होस्ट तथा निर्देशक विशाल भण्डारीका अनुसार जेनजी आन्दोलनपछिका विभिन्न घटनाक्रमले नेपाल प्रहरीको मनोबलमा परेको प्रभावलाई मध्यनजर गर्दै प्रहरी कर्मचारीहरूको आत्मविश्वास र मनोबल उच्च बनाउने उद्देश्यले यो विशेष एपिसोड तयार गरिएको हो ।
यो एपिसोडमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की विशेष अतिथिका रूपमा सहभागी भएका छन् । यो कार्यक्रममा करिब एक सयभन्दा बढी प्रहरी कर्मचारी बर्दीसहित उपस्थित थिए ।
कार्यक्रममा कलाकारहरूले प्रहरी संगठनभित्रका विविध पक्षलाई हास्य र व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेका छन् । प्रहरी कर्मचारीहरूले भोग्ने पारिवारिक समस्या, ड्युटीका क्रममा सामना गर्नुपर्ने चुनौती, जिम्मेवारीको दबाब तथा समाजमा शान्ति सुरक्षा कायम गर्न खेल्ने भूमिकालाई केन्द्रमा राखेर प्रस्तुत दिएका छन् । उनीहरूको विभिन्न स्केच र अभिनयले उपस्थित प्रहरी कर्मचारीहरू उत्साहित देखिएको निर्देशक भण्डारीले बताए ।
आयोजकका अनुसार यो एपिसोडले नेपाल प्रहरीको समर्पण, त्याग र सेवाभावप्रति सम्मान व्यक्त गर्नुका साथै संगठनभित्र सकारात्मक ऊर्जा प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । ‘कमेडी नाइट विथ च्याम्पियन्स’को यो विशेष एपिसोड भोली मंगलबार प्रसारण हुनेछ ।
यो कार्यक्रमको अध्यक्षतामा चर्चित कलाकार तथा निर्देशक दीपाश्री निरौला छिन् । त्यस्तै कार्र्य्रक्रममा कलाकारहरू सुमन कार्की, सजन श्रेष्ठ, भरतमणि पौडेल, सुमन कोइराला, कैलाश कार्की, मेक्सम गौडेल, प्रभात लामा, पवन भट्टराई र कर्मा सिंह लामा लगायतले प्रस्तुति दिएका छन् ।


प्रतिक्रिया