द सिनेमा टाइम्स, काठमाडौं । रुपन्देहीको सिद्धार्थनगरस्थित भाटभटेनी सुपरस्टोरमा अत्याधुनिक सुविधा सम्पन्न आईएनआई सिनेमाज सञ्चालनमा आएको छ । भाटभटेनी सुपरस्टोरको पाँचौँ तलामा स्थापना गरिएको मल्टिप्लेक्स गत शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको भैरहवामा पछिल्ला वर्षहरूमा पर्यटन, होटल, व्यापार तथा सेवा क्षेत्र विस्तार भइरहेका बेला आधुनिक मनोरञ्जन पूर्वाधारको रूपमा आईएनआई सिनेमाज थपिएको हो । यसले स्थानीय दर्शकलाई गुणस्तरीय सिनेमा हेर्न सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ ।
यो हलका संरक्षक तथा व्यवसायी दीपक कुँवरले भैरहवा तीव्र रूपमा विकसित हुँदै गएको व्यावसायिक तथा पर्यटन केन्द्र भएकाले आधुनिक सिनेमा हलको आवश्यकता महसुस गरी लगानी गरिएको बताए । मनोरञ्जन क्षेत्रसँगै स्थानीय अर्थतन्त्र र रोजगारी प्रवद्र्धनमा समेत यसले योगदान पुर्याउने विश्वास उनको छ ।
कम्पनीका निर्देशक आभाष कुँवरले विदेशमा हासिल गरेको अनुभवलाई नेपालमा उपयोग गर्दै आधुनिक मनोरञ्जन क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यले भैरहवामा नयाँ मल्टिप्लेक्स सञ्चालन गरिएको बताए । यो हलबाट युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सकिने सन्देश दिन खोजिएको उल्लेख गरे ।
हल सञ्चालकका अनुसार भाटभटेनीस्थित मल्टिप्लेक्समा दुईवटा अत्याधुनिक अडिटोरियम रहेका छन् । प्रत्येक हलमा १९८ सिट क्षमता रहेको छ भने कुल ३९६ दर्शकले एकैपटक सिनेमा हेर्न सक्ने व्यवस्था गरिएको छ । हलमा बेल्जियममा निर्मित बार्को लेजर प्रोजेक्टर, १६ च्यानल डीटीएस-एक्स इमर्सिभ साउण्ड सिस्टम तथा आधुनिक सिटिङ सुविधा जडान गरिएको जनाइएको छ ।
आईएनआई सिनेमाजका सञ्चालक सुरेन्द्र थापाका अनुसार यो प्रविधिले दर्शकलाई अन्तर्राष्ट्रिय स्तरको सिनेमाको अनुभव प्रदान गर्नेछ । सुरक्षा व्यवस्थालाई समेत प्राथमिकता दिँदै आगलागी प्रतिरोधी सामग्री, आकस्मिक बहिर्गमन मार्ग तथा अन्य आवश्यक सुरक्षा पूर्वाधारको व्यवस्था गरिएको छ ।
सन् २०१९ मा स्थापना भएको आईएनआई सिनेमाजले हालसम्म काठमाडौं, बुटवल, सिमरा, नवलपुरलगायत विभिन्न स्थानमा मल्टिप्लेक्स सञ्चालन गरिरहेको छ । भैरहवामा नयाँ शाखा सञ्चालन भएसँगै कम्पनीको कुल स्क्रिन संख्या १३ पुगेको छ ।
आईएनआई सिनेमाज व्यवस्थापनले भैरहवा, तिलोत्तमा, बुटवल तथा आसपासका क्षेत्रका दर्शकबाट सकारात्मक साथ र सहयोग प्राप्त हुने अपेक्षा गरेको जनाएको छ । कम्पनीका अनुसार सिनेमाका टिकट वेबसाइट तथा डिजिटल भुक्तानी माध्यममार्फत समेत खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
भैरहवामा सञ्चालनमा आएको नयाँ मल्टिप्लेक्सले लुम्बिनी प्रदेशको मनोरञ्जन तथा पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया