हृदयघातका कारण निर्देशक तथा लेखक कृष्ण चापागाईंको निधन

हृदयघातका कारण निर्देशक तथा लेखक कृष्ण चापागाईंको निधन

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक तथा लेखक कृष्ण चापागाईंको हृदयघातका कारण निधन भएको छ । सिनेमा निर्माता समेत रहेका उनको बुधबार बिहान अमेरिकाको बोस्टनस्थित क्याम्ब्रिज हेल्थ एलायन्स एभरेट हस्पिटल (सीएचए)मा उपचारका क्रममा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि अस्पताल भर्ना भएका उनको आईसीयू कक्षमा उपचार भइरहेको थियो । लामो समयदेखि परिवारसँग अमेरिकामा बस्दै आएका उनले ‘एक नजर’, ‘दिदीभाइ’, ‘चट्टान’, ‘इज्जतदार’, ‘दिवानापन’, ‘निखिल दाइ’, ‘महान’ जस्ता सिनेमाको निर्देशन गरेका छन् ।

यीमध्ये प्रायः सिनेमा उनी आफैँले लेखेका हुन् । पछिल्लो पटक उनले निर्देशन गरेको सिनेमा ‘दुश्मनी’ हो, जुन सन् २०१३ मा प्रदर्शन भएको थियो । नेपालमा रहँदा उनले केही समय काठमाडौंको जोरपाटीमा ‘चापागाईं सुटिङ स्टुडियो’ समेत सञ्चालन गरेका थिए ।

सिनेमा तथा टेलिभिजन सिरियलको निर्माणमा यो स्टुडियोले ठूलो सहयोग पुर्‍याएको थियो । उनी आगामी अक्टोबर (असोज)मा नेपाल आएर फेरि सिनेमा निर्माण तथा निर्देशन गर्ने सोचमा थिए । तर, उनको त्यो सपना अधुरै रहने देखिएको छ ।