साउन १ गते रिलिज हुने ‘गौँथली’को गीत ‘आँखाभरि आँसु’ सार्वजनिक

साउन १ गते रिलिज हुने ‘गौँथली’को गीत ‘आँखाभरि आँसु’ सार्वजनिक

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘गौँथली’को पहिलो गीत ‘आँखाभरि आँसु’ सार्वजनिक भएको छ । गत बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा रहेको यो गीत सार्वजनिक गरेको हो । गीतमा डाक्टर भोला रिजालको शब्द तथा गायक गौतम स्वयंको संगीत रहेको छ ।

तीन दशकअघि गाउँघरमा हुने विवाहको परिवेशमा तयार पारिएको गीतको भिडियोमा सिनेमाका मुख्य जोडी अरुण क्षेत्री र सिम्रन पन्तलाई केन्द्रमा राखिएको छ । उनीहरूको विवाह भइरहेको भिडियोमा देख्न सकिन्छ । माइतीघर छाडेर जान लागेकी छोरीले परिवारप्रति गरेको गुनासो र आमाबुबाले नरोई जान गरेको आग्रहलाई गीतले मर्मस्पर्शी रूपमा प्रस्तुत गरेको छ ।

डाक्टर भोला रिजालका छोरा डाक्टर कपिल रिजालको निर्देशनमा निर्माण भएको सिनेमामा अरुण र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, अरुण क्षेत्री, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, अंशु ओली, प्रिन्स नेपाली, राजेन्द्र नेपालीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता सुमन गिरी (भान्जा) र डाक्टर कपिल रिजाल हुन् । सरला रिजाल कार्यकारी निर्मातामा छिन् । सिनेमामा हरि हुमागाईंको छायांकन तथा कपिल रिजाल, निश्चल कुँवर, शिव शर्मा, अभिमन्यू निरवी, निरज नेपाल र गिरिराज घिमिरेको लेखन रहेको छ । सिनेमाको कथा डाक्टर भोला रिजालको हो ।