द सिनेमा टाइम्स, काठमाडौं । कीर्तिमानी सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को जोडी विजय बराल र अञ्जना बराइलीको मुख्य भूमिका रहेको सिनेमा ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माताले थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । यो मितिमा हरिबोधिनी एकादशी (तुलसी विवाह) परेको छ ।
गत जेठमा पर्वत जिल्लाको कुश्मा नगरपालिका-१४ स्थित आर्थर डाँडाखर्क गाउँमा छायांकनका क्रममा घोडाबाट लडेर विजयको दाहिने हात भाँचिएपछि यतिबेला सिनेमाको छायांकन रोकिएको छ । अब असार दोस्रो साताबाट बाँकी छायांकन सुरु गर्ने तयारी गरिएको छ । सिनेमाको करिब ५० प्रतिशत छायांकन भने पूरा भइसकेको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको कथा तथा निर्देशन रहेको सिनेमामा विजय र अञ्जनासहित कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, विनोद न्यौपाने, पूर्वमिस नेपाल उषा खड्गीलगायतका कलाकारको अभिनय देख्न सकिनेछ । सिनेमाको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् ।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भैरहेको सिनेमाका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह–निर्मातामा छन् । पदम बहादुर श्रेष्ठ सिनेमाका छायाँकार हुन् । सिनेमामा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ । सिनेमाले एउटी महिलाको मौन पीडा र संघर्ष उजागर गर्ने जनाइएको छ ।



प्रतिक्रिया