द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र समीक्षक समाज (फिक्सन)ले २०८१ र २०८२ सालको ‘क्रिटिक्स फिल्म अवार्ड’ एकसाथ वितरण गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच २०८१ सालको १० वटा र २०८२ सालको ८ वटा विधामा अवार्ड प्रदान गरिएको हो । विजेताहरूलाई महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)देखि नवीन सुब्बासम्मले अवार्ड प्रदान गरे ।
२०८१ सालको उत्कृष्ट सिनेमाको अवार्ड ‘शाम्बाला’ले पाएको छ । यही सिनेमाबाट मीनबहादुर भामले उत्कृष्ट निर्देशक र थिन्ले ल्हामोले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरे । उत्कृष्ट अभिनेतातर्फको अवार्ड भने सिनेमा ‘गाउँ आएको बाटो’बाट दयाहाङ राईले उचाले । यही सिनेमाबाट उत्कृष्ट साउण्ड डिजाइनको अवार्ड किशोर आचार्यले पाएका छन् ।
त्यस्तै, पटकथा लेखनको अवार्ड ‘सानो संसार’बाट सरिष्मा खत्री र सिद्धार्थ पुडासैनीले प्राप्त गर्दा ‘आँखा’बाट आलोक शुक्लाले छायांकन र ‘राजागञ्ज’बाट जे. हिम ली र एलेक्स गुर्भिट्सले उत्कृष्ट सम्पादनको अवार्ड पाए । अभिनयतर्फ स्पेसल मेन्सन अवार्ड ‘बोक्सीको घर’बाट सुपला सापकोटाले पाइन् भने कला निर्देशनतर्फ ‘पूर्ण बहादुरको सारङ्गी’बाट रोशन दिवानाले अवार्ड उचाले ।
२०८२ सालको उत्कृष्ट सिनेमा भने ‘ऊनको स्वीटर’ बनेको छ । यही सिनेमाले निर्देशन (नवीन चौहान), पटकथा लेखन (नवीन चौहान र सुरज कटुवाल) र पार्श्व संगीत (कोविद बज्र) विधामा पनि अवार्ड प्राप्त गर्यो । यो सिनेमाले गत शुक्रबार मात्र उत्कृष्ट सिनेमासहित निर्देशन र अभिनेत्रीको विधामा राष्ट्रिय चलचित्र पुरस्कार जितेको थियो ।
‘क्रिटिक्स अवार्ड’मा उत्कृष्ट अभिनेताको अवार्ड हरिवंश आचार्यले पाएका छन् । उनले सिनेमा ‘भूठान’बाट यो अवार्ड प्राप्त गरेका हुन् । उत्कृष्ट अभिनेत्रीको अवार्ड भने सिनेमा ‘रमिताको पिरती’बाट आना शर्माले पाइन् । उनले यही सिनेमाबाट गत शुक्रबार राष्ट्रिय चलचित्र पुरस्कारमा राष्ट्रपति रामचन्द्र पौडेलबाट निर्णायक समिति प्रोत्साहन पुरस्कार प्राप्त गरेकी थिइन् ।
त्यस्तै, छायांकन र सम्पादन विधामा ‘भूठान’ उत्कृष्ट ठहरिएको छ । सुशन प्रजापतिले छायांकन र अञ्जय खड्काले सम्पादनतर्फको अवार्ड प्राप्त गरे । समीक्षक समाजले २०८२ सालका लागि स्पेसल मेन्सन अवार्ड भने प्रदान गरेन । कार्यक्रममा निश्चल बस्नेत, स्वस्तिमा खड्का, सञ्चिता लुइँटेल, पशुपति राई, अबिनास विक्रम शाह, बुद्धि तामाङ लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया