द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार खेम शर्माको निधन भएको छ । आइतबार बिहान अमेरिकाको बाल्टिमोरस्थित मिडस्टार युनियन मेमोरियल अस्पतालमा उपचारका क्रममा ‘चतुरे’ उपनामले परिचित उनको ६५ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनी सात वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए ।
कुनै बेला टेलिसिरियल र सिनेमामा उनी निकै रुचाइएका कलाकार थिए । रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका उनलाई ‘चतुरेको दाउपेज’ नामक टेलिश्रृंखलाले दर्शकमाझ चिनाएको थियो । यसपछि उनी वास्तविक नामले भन्दा ‘चतुरे’ उपनामले बढी चिनिए । हास्य अभिनयमा उनको कमिक टाइमिङ उत्कृष्ट मानिन्थ्यो ।
उनले नाटक र टेलिसिरियलसँगै ‘गोठालो’, ‘करोडपति’, ‘नेपाली बाबु’, ‘परेली’ ‘धर्म’, ‘घाम छायाँ’ जस्ता एक दर्जनभन्दा बढी सिनेमामा पनि अभिनय गरेका छन् । उनले पछिल्लो पटक सन् २००६ मा प्रदर्शन भएको सिनेमा ‘छिमेकी : समयको डोरी’मा अभिनय गरेका थिए । यही नै उनको अन्तिम फिचर सिनेमा बनेको छ ।
यतिबेला मनोरञ्जन क्षेत्र उनको निधनको खबरले शोकाकुल बनेको छ । कलाकारहरू सरोज खनाल, प्रेम राजा महत, शिवहरी पौडेल, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), मुकुन्द थापा, सुरवीर पण्डित, महादेव त्रिपाठी, मरिचमान श्रेष्ठलगायतले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको योगदानको स्मरण गरेका छन् ।


प्रतिक्रिया