द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी एकपटक फेरि पर्दामा देखिने भएको छ । ‘मितज्यू’का निर्देशक अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ सिनेमा ‘रातो घेरा’ (द रेड सर्कल)मा उनीहरू एकसाथ देखिन लागेका हुन् । अनिलको पहिलो फिचर सिनेमा ‘घरज्वाइँ’मा पनि उनीहरूको मुख्य भूमिका थियो ।
विश्राम फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुने जनाइएको छ । सिनेमाले मनोरञ्जनसँगै गहिरो सन्देश पनि दिने निर्देशक मगरले बताए । उनका अनुसार असार तेस्रो साताबाट सिनेमाको छायांकन सुरु हुनेछ । अहिले कलाकार र प्राविधिक छनोटको काम भइरहेको उनले जानकारी दिए ।
काफिया फिल्म्सका गोविन्द शाहीले वितरण गर्ने यस सिनेमालाई जीवन गुरुङले निर्माण गर्नेछन् । यसअघि उनले गुरुङ संस्कृतिमा आधारित सिनेमा ‘ङोल्स्यो रानी’ बनाएका थिए । सिनेमालाई दुई श्रृंखलामा निर्माण गरिने जनाइएको छ । यसै वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको सिनेमामा मनोज थापा मगरको संगीत रहनेछ ।
निर्माता गुरुङका अनुसार सिनेमालाई भव्य, कथात्मक रूपमा सशक्त र प्राविधिक रूपमा उच्च स्तरको बनाउन विशेष ध्यान दिइएको छ । अनुभवी कलाकार र प्राविधिक टिमको सहभागिताले सिनेमालाई थप प्रभावशाली बनाउने उनको विश्वास छ । उनले अन्य कलाकार र प्राविधिक टिमको विवरण केही दिनमा सार्वजनिक गरिने जानकारी दिए ।
सिनेमा ‘रातो घेरा’लाई जीवनसहित कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचनले संयुक्त रुपमा निर्माण गर्न लागेका छन् ।


प्रतिक्रिया