द सिनेमा टाइम्स, काठमाडौं । रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको सिनेमा ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा गरिएको छ । लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन एवं निर्देशन रहने सिनेमाको शुभारम्भ सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै गरिएको हो ।
सिनेमा यही असारको अन्तिम सातादेखि छायांकनमा जाने तयारीमा छ । यो सिनेमामार्फत चर्चित गायक पशुपति शर्माले अभिनयमा डेब्यु गर्ने भएका छन् । त्यसैगरी, चर्चित गायिका अञ्जु पन्तकी छोरी पारितोषिका पन्तले पनि यही सिनेमाबाट अभिनय यात्रा सुरु गर्दैछिन् ।
निर्माण टिमका अनुसार ‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत अन्य केही प्रतिभावान कलाकारहरूले समेत डेब्यु गर्नेछन् । यद्यपि, ती कलाकारहरूको नाम भने हाललाई गोप्य राखिएको छ । कमेडी जनरामा निर्माण हुने सिनेमा पूर्ण मनोरञ्जनात्मक हुने निर्देशक सापकोटाले बताए । हाल सिनेमाको प्रि-प्रोडक्सनको काम तीव्र रूपमा अघि बढिरहेको छ ।
निर्माता रघुनाथ सापकोटाका अनुसार रघुजी फिल्म्सले यसअघि घोषणा गरेका केही प्रोजेक्ट प्राविधिक कारणले केही समय पछाडि सरेका थिए । त्यसैले अहिले ‘तीन तीघ्रे क्या बिग्रे’लाई प्राथमिकतामा राखेर अघि बढाइएको हो । साथै, यसअघि घोषणा गरिएका अन्य प्रोजेक्ट पनि क्रमशः निर्माण प्रक्रियामा जाने उनले जानकारी दिए ।
सिनेमाको नेपाल वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ । विदेश वितरणका लागि पनि विभिन्न वितरकहरूबाट चासो र माग आएको भए पनि निर्माण कार्य सम्पन्न भएपछि मात्र त्यसबारे अन्तिम निर्णय गरिने निर्माण टिमले जनाएको छ ।



प्रतिक्रिया