द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘माया भनेकै यस्तो होला’मा कलाकारको बलियो लाइनअप छ । आठ वर्षपछि निर्देशनमा रेखाको यो कमब्याक सिनेमामा मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठसम्म छन् ।
मदनकृष्ण र सृष्टिसहित सिनेमामा दिल श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेलको अभिनय रहेको छ । अभिनेत्रीहरुको भिड रहेको यो सिनेमाका अभिनेता दिल श्रेष्ठ हुन् । दिलको यो तेस्रो कथानक सिनेमा हो । यसअसघि उनले रेखासँग पनि सहकार्य गरिसकेका छन् ।
६ वर्ष अघि प्रदर्शनमा आएको सिनेमा ‘हिरो रिटर्र्न्स’मा उनले काम गरेका थिए । यो सिनेमामा उनले रेखासँगै काम गरेका थिए । त्सअघि उनले ‘पर्खि राख है’मा काम गरेका थिए । यो सिनेमा २०११ मा प्रदर्शनमा आएको थियो । यो उनको डेब्यु सिनेमा थियो । यो बीचका ६ वर्ष उनी सिनेमामा देखिएनन् ।
‘म यो बीचमा सिनेमामा काम नगरे पनि निरन्तर अपडेट छु । म सिनेमामा काम गरौँ वा नगरौँ, यो क्षेत्रबाट टाढा हुन सक्दिनँ,’ दिल भन्छन्, ‘यो पटक मैले अघिल्ला सिनेमाहरूमा गरेको कमजोरीलाई परिमार्जन गर्दै काम गरेको छु ।’ दर्शकले आफ्नो काम मन पराउनेमा उनी ढुक्क छन् । राम्रो टिम र लीजेण्डसँगको सहकार्यले आफूलाई थप जिम्मेवार बनाएको बताउने उनले मदनकृष्ण श्रेष्ठ र रेखा थापाजस्ता कालाकारसँग स्क्रिन सेयर गर्नु आफैँमा चुनौतीपूर्ण पनि हुने प्रस्ट पार्छन् । तर, यो चुनौतीलाई आफूले अवसरमा रुपान्तरण गरेको दिल बताउँछन् ।
दिया एण्ड अमु फिल्मस्को ब्यानरमा निर्माण भइरहेको सिनेमामा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् । ध्रुव लम्सालको पटकथा लेखन छ । लम्सालले सिनेमाले प्रेमकथामार्फत सामाजिक भावना र परिवेश प्रस्तुत गर्ने बताए ।
रेखाले पहिलोपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ बाहिर रहेर यो सिनेमा निर्देशन गरेकी छन् । ‘माया भनेकै यस्तो होला’ अहिले पोस्ट प्रोडक्सनमा छ । यो सिनेमा भदौ २६ गतेबाट तीजको अवसर पारेर देशब्यापी प्रदर्शनमा आउँदैछ । यो सनेमालाई रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।
सुदीप बरालको छायांकन रहेको सिनेमामा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे सिनेमा संयोजक, प्रशान्त सिवाकोटी संगीत, सुजेनी मल्ल ड्रेस डिजाइन, प्रिया कार्की मेकअप तथा चुडामणि प्रोडक्सनमा रहेका छन् ।



प्रतिक्रिया