द सिनेमा टाइम्स, काठमाडौं । आगामी असोज २ गते संविधान दिवसको छेको पारेर प्रदर्शनमा आउन लागेको सिनेमा ‘झिंगेदाउ २’को तीन नयाँ पोष्टर सार्वजनिक गर्दै प्रचारप्रसार आरम्भ गरिएको छ । यी तिन पोष्टर सार्वजनिक गरेसँगै यसको निर्माणपक्षले अब प्रचारलाई पनि तिव्रता दिने बताएको छ । अब, सिनेमाको गीत, ट्रेलर सार्वजनिक गर्दै अगाडि बढ्ने निर्माणपक्षको भनाई छ ।
सिनेमामा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान, विनोद कुमार पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।
सिनेमामा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले अतिथी कलाकारको रुपमा देखिनेछन् । पहिलो पोष्टरमा केकी अधिकारी र आँचल शर्मा हर्षित मुद्रामा छन् । यता, हिउँवाला गौतम, महेश त्रिपाठी र कुशलको भावुक अनुहार देख्न सकिन्छ ।

दोस्रो पोष्टरमा दशैंको उमंग देख्न सकिन्छ । सिनेमाका मुख्य चार पात्रहरु दशैंको उमंगमा रमाएका छन् । यसले, सिनेमाको कथावस्तुमा दशैंलाई समेत समावेश गरेको प्रष्ट हुन्छ । तेस्रो पोष्टरमा आर्यन सिग्देललाई पनि देखाइएको छ । मुख्य चार पात्रहरु अचम्मित भावमा देखिएका छन् भने आर्यनले उनीहरुलाई रोकेको जस्तो देखिन्छ । यी पोष्टरले सिनेमाप्रति दर्शकको चासो र उत्साह अझै बढाउने पक्का छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको सिनेमामा सुलभ प्रतिक, प्रतिक देउजा, समिक्षा देउजाको लगानी छ । विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको सिनेमामा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य, रोशन श्रेष्ठ एक्सन छ । सार्वजनिक तीन नयाँ पोष्टरले सिनेमाको विभिन्न पाटोलाई चित्रित गरेको छ ।
कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा ‘झिँगेदाउ २’ निर्माण भएको हो । ३ वर्ष अगाडि प्रदर्शनमा आएको सिनेमा ‘झिंगेदाउ’ले बक्सअफिसमा सुखद व्यापार गरेको थियो । दर्शकले यसको सिक्वेलको रुपमा तयार भएको ‘झिंगेदाउ २’लाई पनि रुचाउने अपेक्षा गरिएको छ ।
परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेको पटकथा तथा संवाद रहेको सिनेमामा विवेक बस्नेत, ईश्वर सिन्केमनाको छायांकन छ । चन्द्र बहादुर भण्डारी र गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन रहेको छ ।


प्रतिक्रिया