मिलन चाम्सको निर्देशनमा ‘मदनकृष्ण’ निर्माण घोषणा, महेश र केकी मुख्य भूमिकामा देखिने

मिलन चाम्सको निर्देशनमा ‘मदनकृष्ण’ निर्माण घोषणा, महेश र केकी मुख्य भूमिकामा देखिने

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा सिनेमा निर्माण हुने भएको छ । गत वर्षको सुपरहिट सिनेमा ‘अञ्जिला’का निर्देशक मिलन चाम्सले कलाकार श्रेष्ठको बायोपिक निर्माण गर्न लागेका हुन् । सिनेमाको नाम ‘मदनकृष्ण’ राखिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सिनेमाको औपचारिक रूपमा निर्माण घोषणा गरिएको थियो ।

सिनेमामा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । उनको जोडीका रूपमा अभिनेत्री केकी अधिकारी देखिनेछिन् । उनले मदनकृष्णकी श्रीमती यशोधाको भूमिकामा अभिनय गर्ने जनाइएको छ । यसअघि महेश र केकीले सिनेमा ‘झिँगेदाउ २’मा एकसाथ काम गरिसकेका छन् । यसमा पनि उनीहरू श्रीमान्‌-श्रीमतीको भूमिकामा छन् ।

‘लालीबजार’का निर्देशक यम थापाको लेखन रहेको सिनेमामा महेश र केकीसहित हरिवंश आचार्य, किरण केसी, देशभक्त खनाल, राजाराम पौडेल, यमन श्रेष्ठ, रुषा न्यौपानेलगायतका कलाकारको अभिनय रहनेछ । यसमा स्वंयम् मदनकृष्णको पनि अभिनय रहनेछ । कृष्ण जन्माष्टमीको दिन पारेर भदौ १९ गतेबाट छायांकन सुरु हुने सिनेमालाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।

सिनेमामा मदनकृष्णको कलाकारिता यात्रा, जागिरे जीवन, पत्नी वियोग, हरिवंश आचार्यसँगको मित्रतालगायतका विभिन्न पाटोलाई देखाइने जनाइएको छ । सिनेमाका केही दृश्य गत शुक्रबार असार ५ गते राष्ट्रपति कार्यालयमा खिचिएको थियो, जहाँ मदनकृष्णले राष्ट्रपति रामचन्द्र पौडेलबाट दीर्घ साधना सम्मान लिएका थिए ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने सिनेमामा पदम बहादुर श्रेष्ठ (बाबु)को डीओपी, मिलन श्रेष्ठको सम्पादन, अलिश कार्कीको पार्श्व संगीत तथा भरत कँडेलको साउन्ड डिजाइन रहनेछ । सिनेमालाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले संयुक्त रूपमा वितरण गर्नेछन् भने यसको युट्युब राइट्स ‘ओएसआर’ले लिएको छ ।

‘मदनकृष्ण’ निर्देशक चाम्सको चौथो बायोपिक सिनेमा हुनेछ । उनले पहिलो पटक निर्देशन गरेको बायोपिक सिनेमा ‘ब्लाइन्ड रक्स’ थियो । यसपछि ‘बोबी’ र ‘अञ्जिला’ बनाए । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी अनुभवी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनकथामा निर्माण भएको ‘अञ्जिला’ नेपाली सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाई गर्ने बायोपिक हो ।