अरुण र सिम्रनको ‘गौँथली’ले जित्ला दर्शकको मन, कस्तो मिलिरहेको प्रतिक्रिया ?

अरुण र सिम्रनको ‘गौँथली’ले जित्ला दर्शकको मन, कस्तो मिलिरहेको प्रतिक्रिया ?

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन १ गते रिलिज हुने सिनेमा ‘गौँथली’मा योङ एन्ड इनरजेटिक जोडी दर्शकमाझ प्रस्तुत हुनेछ । डाक्टर कपिल रिजालको निर्देशनमा निर्माण भएको सिनेमामा अरुण क्षेत्री र सिम्रन खड्काको अनस्क्रिन जोडी बाँधिएको छ ।

सिनेमामा अरुण र सिम्रन श्रीमान् र श्रीमतीको भूमिकामा छन् । यी दुवै कलाकार दर्शकको मनमा बसिसकेका कलाकार हुन् । डेव्यु सिनेमा ‘महापुरुष’बाट अरुणले दर्शकको मन जितेका थिए । सिम्रनले ‘प्रेमगन्ज’, ‘चित्रा’ र ‘बेहुली फ्रम मेघौली’ लगायतका सिनेमाबाट आफूलाई अब्बल कलाकारका रुपमा प्रमाणित गरेकी थिइन् ।

अब यी कलाकार आफ्ना दर्शकमाझ ‘गौँथली’मार्फत आउँदैछन् । केही दिनअगाडि यो सिनेमाको मर्मस्पर्शी गीत ‘आँखा भरी आँसु’ सार्वजनिक भएको थियो । थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको गीतमा संगीत पनि थानेश्वर स्वयंको थियो । गीतमा शब्द रचना डाक्टर भोला रिजालको थियो । यो गीत दर्शकले रुचाइहेका छन् ।

यो गीत सार्वजनिक विशेष तरिकाले भएको थियो । गीत सार्वजनिक कार्यक्रममा अरुण र सिम्रन बेहुला र बेहुलीको भेषमा कार्यक्रमस्थलमा पुगेका थिए । जुन कार्यक्रमका निम्तालु र पत्रकारका लागि सरप्राइज बनेको थियो । गीत अगाडि यो सिनेमाको टिजर सार्वजनिक भएको थियो । टिजर देखिएको सिनेमाको विषय, अभिनय र प्रस्तुतिलाई नै दर्शकले मन पराएका छन् ।

‘हाम्रो गीत र टिजरलाई दर्शकले रुचाइदिनु भएको छ । एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ,’ निर्देशक रिजालले भने, ‘विषयवस्तु र अभिनयको तारिफ गर्नु भएको छ । शारीरिक समस्याले निम्त्याएको असर त्यसले मानिसको जीवनमा पर्ने प्रभावलाई रुचाइदिनु भएको छ ।’

यो सिनेमामा अरुण र सिम्रनले पहिलोपटक अनस्क्रिन जोडी बाँधेका छन् । यो जोडीलाई दर्शकले कसरी लिएलान् भन्ने कौतुहलता छ । सिनेमामा ‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यता रहेको निर्माण पक्षले जनाएको छ ।

सिनेमामा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् । डाक्टर भोला रिजालको कथा रहेको सिनेमाको पटकथा तथा संवाद लेखनमा निर्देशक डाक्टर कपिलसहित निश्चल कुँवर, निरज नेपाल र गिरीराज घिमिरेले सहकार्य गरेका छन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा रहेका छन् । शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको सिनेमामा पार्श्व संगीत एलिस कार्कीको छ ।

सिनेमालाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको सिनेमामा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ । सिनेमालाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।

‘गौँथली’ नाममा डाक्टर भोला रिजालले दुई दशकअघि सिनेमा निर्माण गरेका थिए । यो सिनेमालाई नेपालको पहिलो ‘गीति सिनेमा’ (म्युजिकल सिनेमा) मानिन्छ । ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । अहिले सोही नाममा डाक्टर भोला रिजालका छोरा तथा निर्देशक डाक्टर कपिल रिजालले नयाँ सिनेमा ‘गौँथली’ निर्देशन गरेका हुन् ।